बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कार्यालय अगाडिको खाल्डो भाइरल बनेपछि सडक विभागले भन्यो, ‘स्तरोन्नतिको काम भइरहेको छ’

सोमबार, २१ फागुन २०८०, २० : १७
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट झन्डै सय मिटर दुरीमा रहेको सडक विभाग परिसरको सडकको अवस्था दयनीय देखिएको छ ।विभाग नजिकै आयल निगमको भवन बन्दै छ । त्यही बाटो भएर दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्छन् । सरकारी अड्डा भएकाले सेवाग्राहीको चाप पनि उत्तिकै छ । विभाग आफैँले देशका विभिन्न जिल्लामा सडक निर्माण गरिरहेका बेला आफ्नै आँगनमा खाल्डो पर्दा बेवास्ता गरेको देखिन्छ । 

सामाजिक सञ्जालमा उक्त सडकका तस्बिर सार्वजनिक भएपछि विभागले विज्ञप्ति जारी गरि गरेर प्रस्टीकरण दिएको छ । विभागले सडकको तस्बिर सार्वजनिक गरेको विषयलाई सामाजिक सञ्जालमा हालेर अतिरञ्जित गरेको जनाएको छ । विभागका सूचना अधिकारी अमित कुमार शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ,‘ विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर नै राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रिया बारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको छ ।’

२०७२ सालको भूकम्पका कारण जीर्ण रहेको कारण लामो समय सम्म चाकुपाट ललितपुरबाट अस्थायी रूपमा सञ्चालन भइरहेको विभागको कामकाज सबलीकरण पश्चात् गत भदौ ६ बाट बबरमहलको आफ्नै भवनबाट सञ्चालन गर्ने गरी सरेको थियो । ‘भवन सबलीकरणको ठेक्का भित्र विभाग परिसरको सडक स्तरोन्नति गर्ने कार्य समावेश नभएको र चालु आव मा बजेटको न्यूनताको कारण यस डिभिजनबाट स्तरोन्नति हुने गरि सडक बोर्ड तर्फको बजेटबाट ठेक्का गरि यसै आवमा सम्पन्न हुने गरि मिति माघ १८ मा सम्झौता भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति फागुन १९ गते शनिवार सवग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको हो ।’

विभागले यो विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको छ । उसले यो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरि काम सुरु गरिरहेको जनाएको छ । ‘ निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधार विज्ञ सम्झिने, स्वघोषित विज्ञहरूले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सडक विभाग, सडक डिभिजन काठमाडौँ मातहतका सडकहरूमा खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत गर्नु भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भई बिदेसिने कारण मध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ ।’ विभागले सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिक्रिया प्रति सजग रहि वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिनु हुन सरोकारवाला तथा सर्वसाधारणमा अपिल समेत गरेको छ । 

9fdfee75-48cb-4ff9-b054-1b2b6ee2068e

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप