शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
‘स्टार एन्ड स्टोरिज’मा पवन भट्टराईसँग कमेडीका कुरा

‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’

शुक्रबार, १९ असार २०८३, १० : ००
शुक्रबार, १९ असार २०८३

काठमाडौं । कमेडी च्याम्पियन सिजन-२ मा सहभागी हुने सपना बोकेर भारतको आसामबाट नेपाल आएका थिए पवन भट्टराई । अडिसन दिए पास पनि भए, त्यसपछि जमेर कमेडी प्रस्तुत गरे । दर्शकहरूले उनको आसामी लवज र शैलीलाई निकै रुचाए । कमेडी च्याम्पियनको विजेता बन्न नसकेपनि उनको कलाले राम्रो ‘एक्सपोजर’ पायो । त्यसैले त उनी आसाम नफर्किएर निष्फिक्री नेपालमै बसेर कमेडी यात्रा गरिरहेका छन् । 

पवन पछिल्लो समयमा चर्चित कमेडियनमध्ये पर्छन् । अहिले उनी ‘कमेडी नाइट विथ च्याम्पियन्स’ दर्शकहरूलाई हँसाइरहेका छन् । यो शोमा उनले बालेन, हरिबहादुर, बीके भाइ, चुल्ठे अंकल लगायत थुप्रै चरित्रमार्फत दर्शकको मन जितेका छन् । उनी कमेडी भूगोल र परिवेश सुहाउँदो हुनुपर्ने धारणा राख्छन् ।

कमेडीमा आउनुअघि उनी होटलमा सेफको रूपमा कार्यरत थिए । सानो हुँदा शिक्षक बन्ने सपना पालेका उनी कमेडी च्याम्पियनमा आउनुभन्दा केहीअघिसम्म दुबईमा सेफ थिए । उनलाई कमेडी र कलाकारिताले चाहिँ कसरी आकर्षित गर्‍यो त ? रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा पवनसँग शिक्षक सपना दुबईको सेफदेखि नेपाली कमेडी यात्रासम्मका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न–सुन्न सकिन्छ) :

तपाईंको कमेडी यात्रा कस्तो चलिरहेको छ ?

अहिलेसम्म राम्रै चलिरहेको छ । हरेक मङ्गलबार हाम्रो शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ आउँछ, त्यसमा विभिन्न प्रस्तुति दिइरहेको छु । 

Pawan Bhattarai

कमेडीमा धेरै किसिमका चरित्र निर्वाह गर्दै आउनुभएको छ । नयाँ नयाँ चरित्र कसरी सिर्जना गर्नुहुन्छ ?  

पहिलो कुरा अग्रज तथा समकालीन कलाकारहरूले गरेको काम हेरेर र सिकेर नै नयाँ चरित्र तयार गरिन्छ । अर्को कुरा कार्यक्रममा आउने फरक–फरक अतिथिका आधारमा नयाँ पात्र प्रस्तुत गर्नुपर्छ । सधैँ एउटै शैली प्रस्तुत गर्दा दर्शकहरूलाई पट्यारलाग्दो हुन सक्छ ।

हरिवंश आचार्यको क्यारिकेचर तपाईंले ठ्याक्कै मिलाउनु हुन्छ । उहाँले कस्तो प्रतिक्रिया दिनुभयो ? 

म हरिवंश सरको क्यारिकेचर कहिलेकाहीँ गर्ने गर्छु । पहिलो पटक शोमा हरिवंश सर आफैँ अतिथि भएर आउनु भएको बेला गरेको थिएँ । उहाँ नेपाली कला क्षेत्रको आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँको शैलीमा प्रस्तुत हुँदा अन्य अतिथिहरूलाई पनि सहज रूपमा व्यङ्ग्य (रोस्ट) गर्न मिल्छ जस्तो लागेर पटक-पटक क्यारेक्टर दोहोर्‍याउने गरेको छु । हरिवंश सरको अगाडि उहाँकै नक्कल गर्दा अगाडि केही भन्नु भएन । 
शो सकिएपछि  ब्याकस्टेजमा भाइले राम्रो गर्दो रहेछौ, मलाई पुराना दिनहरूको सम्झना आयो भन्दै सकारात्मक प्रतिक्रिया दिनुभयो ।

वास्तविक चरित्रका अगाडि क्यारिकेचर गर्दा गाली खाने डर कति हुन्छ ?

प्रस्तुतिमा शब्द चयन अलिकति तलमाथि भयो भने आलोचना हुने सम्भावना रहन्छ । तर हामीले सधैँ मर्यादित शब्दहरू प्रयोग गर्ने भएकाले त्यस्तो समस्या अहिलेसम्म आएको छैन ।  

प्रधानमन्त्री बालेन शाहको क्यारेक्टरको प्रतिक्रिया कस्तो रह्यो नि ?

प्रधानमन्त्री बालेन शाहको क्यारेक्टरमा दुई–तीन पटक गरेको छु । धेरैले राम्रो र ट्याक्कै मिलेको भन्नुभयो । कतिपयले स्वरूप त ठ्याक्कै मिल्यो, आवाज पनि अझै मिलेको भए झन् उत्कृष्ट हुन्थ्यो भन्ने सुझाव पनि दिएका छन् । प्रधानमन्त्रीको प्रतिक्रिया भने पाएको छैन ।

Pawan Bhattarai1

अहिलेसम्मको कमेडी यात्राबाट सन्तुष्टि मिलेको छ त ? 
 
अहिलेसम्म त किन कमेडीमा आए भन्ने पछुतो लागेको छैन । आगामी दिनमा अझ धेरै आत्मसन्तुष्टि मिल्छ जस्तो लाग्छ ।

आसामबाट आएर यहाँ कलाकारिता गरिरहनुभएको छ, होइन ? 

हो, म पहिलो पटक काठमाडौँ घुम्ने र ‘कमेडी च्याम्पियन सिजन २’ को अडिसन दिने उद्देश्यले नेपाल आएको थिएँ । भाग्यवश अडिसनमा छनोट भएँ र उत्कृष्ट ६ सम्म पुग्न सफल भएँ । त्यसपछि ‘कमेडी क्लब’का काम गर्ने अवसर मिल्यो, त्यसपछि पछि फर्किएर हेर्नु परेन ।

आसाम र नेपालको हँसाउने शैलीमा कस्तो भिन्नता पाउनुभयो ? 

शैली ठाउँ र परिवेश अनुसार फरक हुन्छ । दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयवस्तुमा बढी हाँस्छन् । मैले आसामका स्थानीय विषय वा त्यहाँका नेताको क्यारिकेचर यहाँ गरेँ भने यहाँका दर्शकले बुझ्दैनन् । त्यसैले भूगोल र परिवेश सुहाउँदो कमेडी गर्नुपर्छ । 

Pawan Bhattarai2
 
कलाकार बन्ने सोच कसरी आयो ?

नेपाल आएर काम गर्दै जाँदा र दर्शकहरूको माया पाउँदै गएपछि यसैमा निरन्तर लाग्ने प्रेरणा मिल्यो । म होटल व्यवस्थापन पढेको मान्छे हुँ । यहाँ आउनु पहिले दुबईमा सेफको रूपमा काम पनि गरिसकेको थिएँ । बिचमा सिलीगुडीको नेपाली न्युज च्यानलमा ६ महिना जति समाचार पनि पढेँ । त्यसले पनि कलाकारिताको भोक जगायो । 
 
व्यङ्ग्यको सीमा हुन्छ कि हुँदैन ?

अवश्य हुन्छ । व्यङ्ग्य गर्दा शिष्टता र मर्यादा नाघ्नु हुँदैन । व्यङ्ग्य सुन्ने मानिस पनि हाँस्न सकोस् र उसको चित्त पनि नदुखोस् भन्नेमा ध्यान दिनुपर्छ ।  

अबको सपना के छ ?

समय र परिस्थितिसँगै सपना परिवर्तन हुँदै जाँदा रहेछन् । सानोमा शिक्षक बन्ने इच्छा थियो । अहिले कमेडियन भएँ । भविष्यको कुरा भन्न नसकिएला ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?