बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

समीकरण फेरिँदा बागमतीमा राजनीतिक सङ्कट

मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जुटाउन कठिन
मङ्गलबार, २२ फागुन २०८०, ११ : ४३
मङ्गलबार, २२ फागुन २०८०

मकवानपुर । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशमा राजनीतिक सङ्कट बढ्ने देखिएको छ । केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, जसपासहितको गठबन्धन बनेसँगै प्रदेशहरुमा पनि सोही अनुसार सरकार फेरबदल हुने सम्भावना बढेको छ । तर बागमतीमा नयाँ गठबन्धनलाई सरकार गठनका लागि त्यति सहज हुने देखिँदैन ।

बागमतीमा हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरिरहेका छन् । बागमती सरकारमा माओवादी केन्द्रका ३, कांग्रेसका ६ र एकीकृत समाजवादीका २ मन्त्री छन् । केन्द्रीय सत्ता समीकरण अनुसार जाने हो भने बागमती सरकारबाट कांग्रेस र एकीकृत समाजवादी बाहिरिने छन् । जसले माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट पर्ने देखिन्छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७ र माओवादी केन्द्रका २१ सांसद छन् । बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्दछ । तर एमाले र माओवादी केन्द्रका गरी जम्मा ४८ सांसदमात्र हुन्छन् । केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध अन्य कुनै पनि दल बागमती प्रदेशसभामा छैनन् । त्यसैले माओवादी केन्द्र र एमालेले बहुमतका लागि आवश्यक थप ८ सांसदको समर्थन कहाँबाट जुटाउने भन्ने प्रस्ट हुन सकेको छैन ।

प्रदेशसभामा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल केन्द्रीय समीकरण अनुसार सरकार फेरबदलबारे तत्काल यसै भन्न सक्ने अवस्था नरहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले केन्द्रीय निर्णय प्राप्त नभएकाले अहिले नै केही भन्न नसकिने बताए । नयाँ समीकरणको निर्णय र निर्देशन प्राप्त भएपछि सरकारको विषयमा ठोस निर्णय हुने उनको भनाइ छ ।

उनले भने, ‘सरकारका विषयमा विभिन्न विकल्प छन् । नयाँ समीकरण वा वर्तमान समीकरण भन्ने विषयमा छलफल गरेर अघि बढ्छौँ । अहिले केन्द्रमा परिवर्तन भयो भन्ने कुरा आएको छ । हेरौँ के हुन्छ !’

नेपाली कांग्रेस पनि प्रदेश सरकारको विषयमा ‘पर्ख र हेर’को नीतिमा छ । केन्द्र र प्रदेशमा फरक समीकरण बन्न पनि सक्ने कांग्रेसको भनाइ छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार सत्ता समीकरणका विषयमा अहिले नै ठोस निष्कर्ष दिन उचित हुँदैन । राजनीतिमा सम्भावना र विकल्प धेरै रहेकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

यता एकीकृत समाजवादी भने केन्द्रीय समीकरण अनुसार प्रदेश सरकारको समीकरण निर्माण गर्नुपर्ने पक्षमा छ । सो पार्टीका एक नेताका अनुसार केन्द्रमा बनेको नयाँ समीकरणको सरकारमा एकीकृत समाजवादी सहभागी हुने छैन । सोही अनुसार प्रदेशको समीकरण बनाएर अघि बढ्नुपर्ने उनले बताए । बागमती प्रदेशमा फरक धारको सत्ता समीकरण बनाउन दलहरू अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेश सरकार परिवर्तनको सम्भावना प्रबल रहेको बताए । केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार बनाउने सम्भावना रहे पनि सङ्ख्यात्मक विषय निर्णायक हुने उनको भनाइ छ ।

बागमती प्रदेशमा केन्द्रीय सरकारको जस्तो सहज अवस्था नरहेकाले सङ्ख्यात्मक रूपमा केन्द्रीय समीकरण अनुसार अघि बढ्ने विषयमा छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

पौडेल बागमतीमा नयाँ समीकरण अनुसार सरकार बनाउन पर्याप्त सङ्ख्या नभएकाले राप्रपा वा समाजवादीलाई मिलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउँछन् ।

  • हामी आन्दोलनमा छौँ : राप्रपा

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकार परिवर्तनमा आफूहरूलाई खासै चासो नरहेको बताए । विगतमा हतारमा निर्णय गर्दा २ महिनामै सरकार ढलेको बताउँदै उनले केन्द्रको सरकार परिवर्तन र प्रदेशको समीकरणका विषयलाई आफूहरूले हेरिरहेको तर कुनै योजना नबनाएको प्रस्ट पारे ।

नागरिकले राप्रपालाई प्रतिपक्षको भूमिका दिएको र सोही अनुसार जनताको मुद्दा लिएर राप्रपा आन्दोलनमा होमिएको उनको भनाइ छ ।

‘हामी सरकार र सत्ता समीकरणको जोडघटाउ हेरिरहेका छौँ । अहिले नै हतार गरेर अघि बढ्नु हुन्न भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘विगतमा हतार गर्दा २ महिना पनि टिक्न सकेनौँ । हामीलाई जनताले प्रतिपक्षको भूमिकाको म्यान्डेट दिएका छन् । त्यसैले सरकार र सत्ता समीकरणका विषयमा योजना बनाएका छैनौँ । हामी आन्दोलनमा छौँ ।’

  • निर्णायक भूमिकामा राप्रपा

बागमती प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ । राप्रपा नयाँ गठबन्धनसँग मिल्दा सहजै सरकार गठन हुन सक्छ भने कांग्रेससँग तालमेल गरेको खण्डमा पनि सरकार गठनमा बहुमत पुग्न सक्छ ।

  • के के छन् विकल्प ?

१. एमाले, माओवादी र राप्रपाको तालमेल

बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ सांसद छन् । यी तीन दल मिलेको खण्डमा सहजै सरकार गठन हुन सक्छ ।

२. कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको सहकार्य

सरकार गठनको दोस्रो विकल्पमा कांग्रेसले एकीकृत समाजवादी र राप्रपासँग सहकार्य गर्न सक्छ । सरकार गठनका लागि आवश्यक ५६ जनामध्ये कांग्रेससँग ३७ सांसद छन् । कांग्रेसलाई अन्य १९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यी तीन दल मिल्दा सरकार गठनका लागि ५७ जना सांसदको साथ हुने देखिन्छ ।

३. कांग्रेस र एमाले तालमेल

बागमती प्रदेशमा कांग्रेस र एमालेबिच तालमेल भएको खण्डमा पनि सरकार बन्न सक्छ । कांग्रेस र एमाले मिल्दा बागमती प्रदेशसभामा ६४ जना सांसद पुग्छन् । यस विकल्पको सम्भावना भने अत्यन्त न्यून देखिन्छ ।

४. कांग्रेस र माओवादी केन्द्रको सहकार्य

सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रको तालमेल पनि विकल्प हुन सक्छ । यी २ दलको सहकार्यमा सहजै बहुमत पुग्छ । कांग्रेससँग ३७ र माओवादीसँग २१ गरी जम्मा ५८ सांसदको समर्थनमा नयाँ सरकार गठन हुन सक्छ ।

केन्द्रमा एमालेसँग सहकार्य गरेको माओवादीले प्रदेशका लागि कांग्रेससँगै सहकार्य गर्ने सम्भावना भने कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप