बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलबार, २२ फागुन २०८०, १७ : ०८
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । बाटोको नाप जाँच नै नगरी नक्कली बिल भरपाई बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेपछि हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाले योजनाको नाप जाँचै नगरी उपभोक्ता समिति खडा गरेर १० लाख २९ हजार तीन सय २५ रुपैयाँ भुक्तानी गरेको आयोगले जनाएको छ ।

  उनीहरूले निर्माण योजनामा उक्त कार्यको नाप जाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गर्न लगाएका थिए । कामै नगरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरूलाई आधार मानी रकम भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

 आर्थिक वर्ष २०७४÷०७५ मा हुम्लाको चंखेली गाउँपालिका–३ स्थित मेलादेखि बासलधारासम्म बाटो निर्माण योजना अगाडी बढेको थियो । आयोगले चौलागाई, शाही, वली, पल्लीमगर र बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो अनुरूप १० लाख २९ हजार तीन सय २५ रुपैयाँ जरिवाना र सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजायको मागदाबी लिएको छ । 

आयोगले उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा र सचिव हंश बहादुर ऐडीलाई समेत प्रतिवादी बनाएको छ । उनीहरूले गाउँपालिकासँग सम्झौता गरी उक्त सम्झौता बमोजिमको कुनै कार्य नगरी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा बिल भरपाई, डोर हाजिरी लगायतका कागजात पेश गरी गराई भुक्तानी लिएका थिए । 

आयोगले चंखेली गाउँपालिकाको वडा–३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडीलाई पनि प्रतिवादी बनाएको छ। उनले बाटो निर्माण योजनामा नभए नगरेको कामसमेतलाई कार्य सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेको अयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप