शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अनलाइन सेवा

नाम मात्रको त्रिविको ‘अनलाइन सेवा’, हटेन कोठा-कोठा धाउनुपर्ने समस्या

सेवाग्राही र कर्मचारीको आ–आफ्नै गुनासो
बुधबार, २३ फागुन २०८०, १३ : ३७
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा हिजो आज भिडभाड कम देखिन्छ । प्रत्येक कोठा तथा हरेक कर्मचारीको अगाडि शैक्षिक प्रमाणपत्र बनाउने, सच्याउन आउने सेवाग्राही (विद्यार्थी) को भिडभाड हुन्थ्यो । तर, अहिले त्यो कम भएको छ । झ्यालमा हुने सेवाग्राहीको लाइन तथा भिड विगतको तुलनामा केही कम भएको हो । त्यसको कारण हो, कार्यालयले सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रणाली ।

पनिकाले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको थियो । तर, दोस्रो दिन नै ‘ह्याक’ भएपछि केही दिन बन्द भएको थियो । सेक्युरिटी अडिट गरेर फागुन ८ गतेदेखि वेबसाइट पुनः सञ्चालनमा आएको थियो । अनलाइन मार्फत नै शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने भन्दै सुरु गरेको सेवाबाट सेवाग्राहीले झन् सास्ती खेप्नु परेको छ ।

अनलाइन मार्फत फारम ‘सबमिट’ नभएपछि पेप्सीकोला बस्दै आएका रोशन अधिकारी बल्खु पुगे । सोधपुछ कक्षमा पुगेर अनलाइन मार्फत फारम भर्दा ‘सबमिट’ भएन भन्दै उनले प्रश्न गरे । त्यहाँका कर्मचारीले उनलाई एउटा फारम दिएर आवश्यक कुरा भर्न भने । त्यो फारम भरेर नेपाल बैंक लिमिटेडको काउन्टरमा पुगी उनले आवश्यक दस्तुर बुझाए । पैसा तिरेपछि उनी माइग्रेसन सर्टिफिकेट लिन फारम भरेर फर्किए । उनलाई एक हप्तापछि आउन भनिएको छ ।

उनको प्रश्न छ, ‘अनलाइन मार्फत सेवा दिन्छौँ भनेर तामझामका साथ उद्घाटन गरिएको थियो तर यसरी अफिसमै आएर प्रमाणपत्र लिन फारम भर्नुपर्ने भए किन अनलाइनको तमासा गरेको ?’

विद्यार्थीलाई सहज रूपमा सेवा दिनुको साटो झन् अन्यौलता सिर्जना गर्न अनलाइन सिस्टम ल्याएको उनको बुझाइ छ । पहिला पनि ट्रान्सक्रिप्ट बनाउन, सच्याउन तथा हराएको मार्कसिट बनाउन झ्यालमै लाइन लाग्नुपर्थ्यो । कोठा कोठामा कर्मचारीहरू खोज्दै हिँड्नुपर्थ्यो । अनलाइन मार्फत सेवा थालिए पनि काम गराईको शैली उस्तै रहेको उनको भनाइ छ ।

हिजोआज पनिकामा ट्रान्सक्रिप्ट बनाउन आउने, सच्याउन आउने, हराएको प्रमाणपत्र बनाउन आउनेहरूको सङ्ख्या केही मात्रामा कम देखिएको छ । तर, यसरी आउनेहरूले समेत कर्मचारी भेट्टाउँदैनन् । त्यसपछि उनीहरू अर्को दिन फेरि आउन बाध्य हुने गरेका छन् ।

ट्रान्सक्रिप्टमा नाम गलत परेपछि सच्याउन बल्खु पुगेका काभ्रेकी लक्ष्मी तामाङ दुई दिनसम्म धाउनु पर्‍यो । अनलाइनमार्फत सच्याउन मिल्ने बताएपछि आफूले फारम भरेको तर काम नभएपछि काठमाडौँ नै आउनुपरेको उनको भनाइ थियो ।

‘दुई दिन लगाएर बल्ल काम भयो । सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बस्दा पनि काम भएन । एउटा कोठाबाट अर्को कोठामा पठायो । अर्को कोठामा जाँदा त्यहाँ कर्मचारी नै थिएनन् । मंगलबार बिहान १० बजेतिर पुगेको थिएँ । बल्ल काम भयो,’ तामाङले भनिन् ।

त्रिभुवल विश्वविद्यालय स्ववियू सभापति श्यामराज ओझाले अनलाइन सिस्टम लागु गरे पनि पुरानै शैली रहेको बताए । विद्यार्थीहरूलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा अनलाइनलाई व्यवस्थित गर्न नसकेको उनको भनाइ छ ।

‘अनलाइनबाट सेवा दिने भनेर थालनी गरियो । तर, प्रभावकारी रूपमा काम हुन सकेको छैन । अहिलेसम्म अनलाइनबाट सेवा लिएर शैक्षिक प्रमाणपत्र पाएको मेरो जानकारीमा छैन,’ उनले भने ।

परीक्षा नियन्त्रण कार्यालयसँग आफूहरूले छलफलका लागि पहल गरे पनि अधिकारीहरू पन्छिँदै गइरहेको उनले बताए । ‘परीक्षा नियन्त्रक सरसँग छलफल गर्ने भनेर बस्न खोजिरहेका छौँ । तर, उहाँ दिनदिनै भाग्दै हिँड्नुभएको छ । दिनै नसकिने खालको सेवालाई किन प्रचारबाजी गरेको भनेर प्रश्न गरेका छौँ । हाम्रा आन्दोलन पनि यसैमा केन्द्रित छ,’ सभापति ओझाले भने ।

  • निवेदन सम्बन्धित शाखामा पठाउन सकिएन  

फागुन ८ गतेदेखि पुनः अनलाइन सेवा सुरु भए पनि अनलाइन मार्फत आएका आवेदनहरूमा पनिकाले कुनै कारबाही गर्न सकेको छैन । त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकास नहुँदा अनलाइन आवेदनहरू सिस्टममा थन्किएर बसेका हुन् ।

अनलाइन मार्फत आएका आवेदनहरू सम्बन्धित शाखामा पठाउन नसकिएको सहायक परीक्षा नियन्त्रक पवन बरालले बताए । उनले भने, ‘अनलाइन निवेदन आइरहेको छ । तर, सम्बन्धित शाखा शाखामा लगइन गरेर गर्नुपर्ने काम भइरहेको छैन, यसलाई सुधार गर्ने काम भइरहेको छ ।’

अनलाइन मार्फत संकलन भएका आवेदनहरू सम्बन्धित शाखामा पठाउनुपर्छ । उक्त शाखाले आवश्यक कागजात पेस भए÷नभएको हेरेर आवश्यक निर्णयसहितको जानकारी अनलाइन मार्फत नै दिने व्यवस्था गरिएको हो । तर, हाल आएका आवेदनहरू अनलाइन सिस्टमको एउटा क्षेत्रमा थन्किएर बसेका छन् । निवेदन कलेक्सन भइरहेका छन् । त्यहाँबाट सम्बन्धित शाखामा पठाउने काम हुन नसकेको उनको भनाइ छ ।

एकातिर पनिकाले अनलाइन सेवा प्रवाह थालेको छ भने अर्कोतिर कर्मचारीहरू अतिरिक्त भत्ता नपाएकोमा असन्तुष्ट छन् । विगत लामो समयदेखि पनिकाका कर्मचारीहरूलाई त्रिविले अतिरिक्त भत्ता दिँदै आएको थियो । तर, यो वर्षदेखि बजेट अभाव देखाउँदै शिक्षक कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको थियो । जसले गर्दा उनीहरू अफिस समयभन्दा बढी काम गरेको पैसा पाउन सकिरहेका छैनन् ।

पनिकाका कर्मचारीहरूले साउनदेखि अतिरिक्त भत्ता नपाएको बताएका छन् । अतिरिक्त भत्ता नपाउने भएपछि कर्मचारीहरू कार्यालय समयबाहेक काम गर्न आनाकानी गर्दै आएका छन् । अनलाइन सिस्टमको विकास गरेपछि २४ घण्टा नै कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, त्रिविले नै अतिरिक्त भत्ता कटौती गरेपछि कर्मचारीहरूले अतिरिक्त समयमा काम गर्न अस्वीकार गर्दै आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप