बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेश : मुख्यमन्त्रीमा जम्कट्टेलको निरन्तरता कि अन्य विकल्प ?

बिहीबार, २४ फागुन २०८०, ०७ : २४
बिहीबार, २४ फागुन २०८०

मकवानपुर । सत्ता समीकरणमा फेरबदल भएसँगै बागमती प्रदेश सरकारको भविष्यमाथि संकट सिर्जना भएको छ । नयाँ सत्ता समीकरण अनुसार प्रदेशसभामा बहुमत नपुग्ने भएकाले माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको हो ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी, राप्रपासँगै हाम्रो नेपाली पार्टीको भूमिका कस्तो रहने छ भन्नेबारे सबैको चासो बढेको छ । सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य शालिकराम जम्कट्टेल सरकार टिकाउन दौडधुप गरिरहेका छन् । उनले बुधबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर छलफल गरेका छन् भने कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए । यद्यपि बागमती सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले नयाँ गठबन्धनबाट अघि बढ्ने वा पुरानै कायम गर्ने भन्ने विषषमा निर्णय नगरिरहेको अवस्थामा कांग्रेस वर्तमान सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

मुख्यमन्त्री जम्कट्टेल नयाँ गठबन्धनलाई बहुमतमा पु¥याउन एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी फकाउन लागिपरेका छन् । केन्द्रकै समीकरण अनुसार अघि बढ्ने उनको पहिलो प्राथमिकता बनेको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार केन्द्रको भन्दा फरक समीकरणबाट सरकार अघि बढ्ने सम्भावना रहन्न । नयाँ गठबन्धनमा मन्त्रिपरिषदको भागबण्डासँगै प्रदेश सरकारको नेतृत्वका विषयमा पनि छलफल हुने र त्यसपछि मात्र समीकरण निर्धारण हुने उनले बताए । ती विषय नसुल्झिएसम्म अहिलेको सरकारमा भएका दलका मन्त्रीहरुलाई हटाउने वा राख्ने विषय अघि नबढाउने उनको भनाइ छ ।

ढकालले सरकारको समीकरण परिवर्तन भए पनि बागमती प्रदेशमा माओवादी केन्द्रले नै नेतृत्व गर्ने दाबी गरे । सत्ता समीकरण मिलाउन कठिन रहेकाले अहिलेकै नेतृत्वलाई निरन्तरता दिन उपयुक्त हुने उनले बताए ।

केन्द्रको निर्देशन कुर्दै एमाले

सरकारको भविष्यका विषयलाई लिएर विभिन्न खालका टिप्पणी भइरहँदा एमालेले खासै चासो देखाएको छैन । प्रदेश सरकारको विषयमा तत्काल कुनै कदम चाल्ने अवस्थामा एमाले देखिँदैन ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेलका अनुसार सरकारको विषयमा तत्काल अघि बढ्ने अवस्था छैन । केन्द्रमा सबै विषय टुङ्गिएर आएपछि मात्र प्रदेश सरकारको समीकरणका विषय अघि बढाइने उनले बताए ।

प्रदेश सरकारको समीकरण केन्द्रको भन्दा फरक नहुने पौडेलको जिकिर छ । केन्द्रको निर्देशन प्राप्त हुनासाथ सरकारको समीकरण र मन्त्री तथा मन्त्रालयको भागबण्डालाई अघि बढाइने उनको भनाइ छ ।

केन्द्रले निर्धारण गरेको सत्ता समीकरणको खाका प्राप्त नभएसम्म एमाले सरकारको विषयमा अघि नबढ््ने प्रमुुख सचेतक पौडेलले बताए । केन्द्रकै अनुसार बागमतीको समीकरण फेरिने उनले प्रस्ट पारे ।

माओवादीमाथि एमालेको अविश्वास

नयाँ समीकरण अनुसार सत्ता सझेदार बनेका माओवादी केन्द्र र एमालेबिच बागमतीमा विश्वासको ठुलो खाडल छ ।

चालु आर्थिक वर्षको बजेटमाथिको विवाद र एमाले–राप्रपासँगको पटक पटकको सहमति कार्यान्वयन नभएका कारण माओवादीसँग एमालेको सम्बन्ध चिसिएको छ । बजेटमाथिको विवादलाई लिएर मुख्यमन्त्री जम्कट्टेलको राजीनामा नै माग गर्ने परिस्थितिमा एमालेका सांसदहरु पुगिसकेका थिए ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भए पनि प्रदेशस्तरमा दुई दलबिच समन्वय हुन सकेको छैन । न एमालेले मुख्यमन्त्री जम्कट्टेलसँग सम्पर्क गरेको छ, न त मुख्यमन्त्री जम्कट्टेलले एमालेको खोजी गरेका छन् । यस्तो अवस्थामा यी दुई प्रमुख दलबिच सत्ता साझेदारी कठिन हुने देखिन्छ ।

सरकार गठन गर्न अघि बढ्दै कांग्रेस

केन्द्रमा सत्ता समीकरण फेरबदल भएर नेपाली कांग्रेस प्रतिपक्षमा पुग्दा बागमती प्रदेशमा भने सरकार बनाउने तयारीमा जुटेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा नयाँ गठबन्धनको सरकार कायम हुने अवस्था छैन । अंकगणितले माओवादी वा एमालेको नेतृत्वमा सरकार बनाउने अवस्था नरहेको उनले बताए ।

यो अवस्थामा कांग्रेस संसदको ठुलो दलको हैसियतमा सरकार बनाउने गरी अघि बढेको उनले प्रस्ट पारे । कांग्रेसको नेतृत्वमा विभिन्न दललाई समेटेर सरकार बनाउने गरी छलफल अघि बढाएको उनले बताए ।

बुधबार बिहानैबाट कांग्रेस छलफलमा जुटेको छ । विदेश भ्रमणबाट फर्किए लगत्तै कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले सरकारको समर्थन र नयाँ समीकरण सहित सरकारको नेतृत्व लिने गरी छलफललाई तीव्रता दिएको चित्रकारले बताए ।

युरोप भ्रमण सकेर बुधबार फर्किएका लामाले काठमाडौँमा संसदीय दलका पदाधिकारीहरुसँग छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप