आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूईंमान्छेले महसुस गर्नेगरी काम गर्छु : मन्त्री गिरी

आइतबार, २७ फागुन २०८०, २० : ५८
आइतबार, २७ फागुन २०८०

कास्की ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन् । कास्कीको रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् ।

मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए। उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए।

‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ। जुनप्रकारले नेपाली युवाहरु विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै  कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतिर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्ने हुन्छ’, गिरीले भने।

उनले नेपालमा छोटो छोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको दाबी गरे। ‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता, वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा पनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो’ उनले भने।

उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए ।

‘नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने, अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछि त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौ अरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ। हाम्रा विकासका गतिहरु रोकिएका छन् । विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले भने ।

मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे। गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए। उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे। 

उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको समेत बताए। उनले कानुनमन्त्रीका रुपमा पाएको जिम्मेवारीलाई भूईंमान्छेले महशुस गर्नेगरी पूरा गर्ने वाचा गरे।

‘आज कानुनमन्त्रीको रुपमा नयाँ जिम्मेवारी प्राप्त गरेको छु। मलाई राम्रोसँग थाहा छ देशको विकास एउटा राम्रो बाटोले मात्रले हुँदैन, दुई चारवटा खानेपानीका धाराले हुँदैन। दुई–चार वटा अस्पताल बनाउँदैमा पनि देश बन्दैन। देश बन्नका लागि असल नीति बन्नपर्छ। असल कानुन निर्माण गर्नुपर्नेछ। अत्यन्तै गरिब भूईंमान्छेका हितमा कानुन बनाउनुपर्नेछ,’ मन्त्री गिरीले भने, ‘पारदर्शिता र सुशासनका निम्ति चाहिने कानुनहरु बनाउनुपर्नेछ। सार्वजनिक हितका निम्ति काम गर्नुपर्नेछ। त्यो काम गर्नका निम्ति मैले रातभरी नसुतेर भएपनि म खट्नेछु, मेरो टिम खट्नेछ।,’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप