सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रशासन

२४६ पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत

मधेस र सुदूरपश्चिम प्रदेशमा छन् ‘निमित्त’ धेरै
सोमबार, २८ फागुन २०८०, १२ : २९
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । पालिका सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य रहन्छ । स्थानीय तहमा विकास निर्माणका लागि आवश्यक बजेट, ठेक्का प्रणाली लगायतका विषय प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षेत्र भित्र पर्छ । योसँगै पालिका अन्तर्गतका कर्मचारी र विद्यालयको तलब निकासा अधिकृतले नै गर्छन् ।

अहिले ७५३ वटा स्थानीय तहमध्ये २४६ मा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । ९ वटा उपमहानगरपालिका, १२६ नगरपालिका र १११ गाउँपालिका निमित्तका भरमा चलेका छन् ।  उपमहानगरपालिकामा सह–सचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत दर्जाका निजामती अन्तर्गतकै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउँदै आएको छ । सह–सचिवको सरुवा मन्त्रिपरिषद्ले, उपसचिवको सचिव र त्यसमुनिको तहका कर्मचारीलाई सहसचिवले नै सरुवा गर्छन् ।

रिक्त प्रमुख प्रशासकीय अधिकृतमध्ये धेरैजसो मधेस प्रदेशमा छन् । यो प्रदेशमा तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । जसअनुसार तीन उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेसपछि सुदूरपश्चिम प्रदेशका धेरै पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलेका छन् । यो प्रदेशमा एउटा उपमहानगरपालिका, ३३ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । धनगढी उपमहानगरपालिकामा उपसचिवले निमित्त भएर काम गरिरहेका छन् । २२ वटा नगरपालिकामध्ये २६ मा शाखा अधिकृत र ५४ गाउँपालिकामध्ये २७ वटामा सुब्बाले निमित्त भएर काम गरिरहेका छन् ।

सात प्रदेशमध्ये गण्डकी प्रदेश सिस्टममा चलेको देखिन्छ । यो प्रदेशमा एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका छन् । जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवले काम गरिरहेका छन् । २६ वटा नगरपालिकामध्ये २३ वटामा उपसचिव र ५८ गाउँपालिकामध्ये ५२ वटामा शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् । मन्त्रालयका अनुसार गण्डकीमा जम्मा ९ वटा पालिकामा मात्रै प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् ।

निमित्तका भरमा चलेका पालिकामध्ये कोशी प्रदेश पनि अग्रपंक्तिमा आउँछ । कोशीमा एउटा महानगरपालिका, दुई वटा उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका छन् । महानगरपालिकामा सहसचिव नै छन् । दुई उपमहानगरपालिका सहित ४६ वटा नगरपालिकामध्ये १८ र ८८ वटा गाउँपालिकामध्ये १८ वटा निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलेका छन् । यता बागमती प्रदेशमा ११९ पालिकामध्ये १४ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् । हेटौंडा उपमहानगरपालिकामा सहसचिव नै छन् । बाँकी ४१ नगरपालिकामध्ये ४० वटा शाखा अधिकृत र ७४ गाउँपालिकामध्ये ६१ मा सुब्बाले निमित्त भएर काम गरिरहेका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा १०९ वटा पालिकामध्ये १३ वटामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । ४ वटा उपमहानगरपालिका क्रमशः बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्जमध्ये तीन वटामा मात्रै सहसचिवले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेका छन् । त्यस्तै ३२ वटा नगरपालिकामध्ये २८ वटामा उपसचिव र ७३ गाउँपालिकामध्ये ६७ मा शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् ।

कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये ५४ वटा निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलेका छन् । महानगर र उपमहानगर नभएको यो प्रदेशमा २५ नगरपालिका र ५४ वटा गाउँपालिका छन् । जसअनुसार १९ वटा नगरपालिका र २१ वटा गाउँपालिका निमित्तका भरमा चलेको छ । माओवादीका तत्कालीन मन्त्री अमनलाल मोदीले झण्डै ३ सय निमित्तलाई घटाएर ४० मा झारेका थिए । 

  • किन यति धेरै निमित्त ?

पालिकाहरूमा यति धेरै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा किन पदपूर्ति हुन नसकेको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराई भन्छन्, ‘पालिकामा दरबन्दी पूर्ति हुन नसक्नुको प्रमुख कारणमा कर्मचारीहरू नै जान नचाहनु हो, अर्को भनेको अहिले लोकसेवाबाट पास भएर आएका उपसचिवहरू तालिममा छन्, उनीहरूले तालिम सकाएपछि पालिकामै पठाउँछौँ ।’

भट्टराईका अनुसार पालिकाहरूमा जनप्रतिनिधिले कर्मचारीप्रति गर्ने व्यवहारले पनि प्रमुख प्रशासकीय अधिकृत टिक्ने कि नटिक्ने भन्ने देखिएको छ । ‘जनप्रतिनिधिले सकेसम्म आफूले रुचाएको र निमित्त नै राख्न खोज्ने प्रवृत्ति छ, अर्कोतिर काम गरिरहँदा कर्मचारीहरूमाथि कुटपिट र दुर्व्यवहारका कुरा पनि छ,’ भट्टराईले रातोपाटीसँग भने, ‘कर्मचारीले ऐन÷नियम टेकेर काम गर्छु भन्दा जनप्रतिनिधिको व्यवहार राम्रो पाइँदैन, त्यही भएर सकेसम्म जान रुचाउँदैनन् ।’

उनले प्रमुख प्रशासकीय अधिकृत सरुवाको मापदण्ड स्वीकृत हुने चरणमा रहेकाले त्यसपछि निमित्त शून्यमा झर्ने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप