सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्ल्याण्डसँग फुटबल खेल्न ३० जनाको नेपाली टिम बेलायत आउँदै

मङ्गलबार, २९ फागुन २०८०, ०६ : ३४
मङ्गलबार, २९ फागुन २०८०

लन्डन । आउँदो मे ६ तारिख नेपालको राष्ट्रिय टिम र  बेलायतको राष्ट्रिय  टिमको मान्यता पाएको ‘इंग्ल्याण्ड सी’ बिच फुटबल खेल हुने भएको छ ।  अल्डरसट टाउन एफसीको आफ्नै स्टेडियम इबीबीमा आयोजना हुन लागेको उक्त प्रतिस्पर्धाको आयोजना अल्डरसट टाउन फुटबल क्लबको अध्यक्ष समेत रहेका पाकिस्तानी मूलका साहिद अजिमले गर्न लागेका हुन् ।

यो ऐतिहासिक खेल मैत्रीपूर्ण नभई  यहाँको फुटबल एशोसिएसन (एफए) ले मान्यता दिएको एक पूर्ण अन्तर्राष्ट्रिय खेल हो। जसमा अङ्ग्रेज खेलाडीहरू इंग्ल्याण्डको राष्ट्रिय टिमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तर्राष्ट्रिय खेलहरूको सूचीमा समेत सूचिकृत  हुनेछ ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरी ३० जनाको टिम बेलायत आउने जानकारी गराएका हुन् । खेलाडीहरुको भिसा लागिसकेको र अप्रिल २९ मा खेलाडीहरू बेलायत आइपुग्ने छन् ।

खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ र इंग्ल्याण्ड फुटबल एसोसिएसनसँग समन्वय गरिरहेको छ । इङ्ग्लिस फुटबल क्लबले विकासोन्मुख देशलाई फुटबल खेलमा आकर्षित गराईरहंदा नेपालबाट आउने टिमलाई पनि सहयोग गर्न लागेको हो ।

करिब ५० हजार पाउण्ड बजेट खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा खेलाडीहरुको सम्पूर्ण खर्च आयोजकको तर्फबाट नै गरिनेछ । दुई देशीय ऐतिहासिक खेललाई सफल बनाउन नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघलगायत सम्पूर्ण सङ्घसंस्थालाई सहयोग गर्न अपिल गरिएको छ । ८ हजार दर्शक क्षमता रहेको उक्त प्रतियोगितामा कम्तीमा ५ हजार दर्शकको उपस्थिति रहने आयोजकले बताएका छन् । म्याच हेर्न वयस्कका लागि १० पाउण्ड र १६ वर्ष मुनिका लागि ५ पाउण्ड टिकट निर्धारण गरिएको छ ।

अल्डरसट टाउन एफसी अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान् खेलाडीलाई बेलायती क्लबमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने भएकोले खेलाडीहरुले आफ्नो प्रतिभा देखाएर अनुबन्धको प्रस्ताव पाउन सक्ने सम्भावना रहेको बताए । खेल हेर्न विभिन्न लिगका प्रशिक्षक आउने भएकोले उनीहरुको मन जित्न खेलाडीलाई उनको आग्रह छ । ‘हाम्रै अल्डरसट टाउन क्लबमा पनि कुनै नेपाली खेलाडीले खेलेको हेर्न मलाई चाहना छ’ अजिमले भने ।

इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टिमलाई स्वागत गर्न आफूहरू आतुर रहेको जनाउँदै यो खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रूपमा लिएको जनाएको छ ।

खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय नेपाली समुदायका अगुवाहरूको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप