आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

दुधको गुणस्तरमा उपभोक्ता ठगिए

मङ्गलबार, २९ फागुन २०८०, १९ : ००
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेपाली बजारमा दुधको गुणस्तर निर्धारित मापदण्डभन्दा कम पाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएका अधिकांश नमूनामा दुध गुणस्तरहीन पाइएको हो ।

बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएको भन्दा कम तौल भएको, मापदण्डभन्दा कम फ्याट र एसएनएफ पाइएको हो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताए ।

सरकारले किसानबाट ४ युनिट फ्याट र ८ प्रतिशत एसएनएफ (सोलिड नट फ्याट) दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरेको छ । उपभोक्ता मूल्य भने निर्धारण गरिएको छैन । दुध उद्योगीलाई नै उपभोक्ता मूल्य निर्धारण गर्न दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सहसचिव सम्झना कुमारी काफ्लेले बताइन् । ‘दुधको मूल्य बढाउँदा किसानबाट खरिद गर्ने मूल्य सरकारले निर्धारण ग¥यो,’ उनले भनिन्, ‘उपभोक्ता मूल्य उद्योगी साथीहरुले निर्धारण गर्नका लागि छोडिएको थियो ।’

दुधको गुणस्तर अनुसार मूल्य निर्धारण नहुँदा उपभोक्ता ठगिँदै छन् । ४ युनिट फ्याट र ८ प्रतिशत एसएनएफ भएको दुध प्रतिलिटर ६५ रुपैयाँमा किसानबाट खरिद गर्ने मूल्य निर्धारण छ । सो दुधबाट करिब साढे एक प्रतिशत फ्याट निकालेर कम गुणस्तरको दुध प्रतिलिटर  १०० रुपैयाँभन्दा बढीमा बेच्ने गरेको पाइएको छ । बजारमा पाइने प्याकेटको दुधमा कुनैमा ३ प्रतिशत फ्याट त कुनैमा ५ प्रतिशत फ्याट भएको पाइएको छ । उपभोक्ता मूल्य निर्धारण नहुँदा मूल्य पनि एकरुपता नभएको पाइएको छ ।

डेरी विज्ञ नारायण श्रेष्ठका अनुसार गाईको दुधमा ४.५ प्रतिशत फ्याट र साढे ८ एसएनफ हुन्छ । यस्तै, भैंसीको दुधमा ६ देखि ७ प्रतिशत फ्याट, ८ देखि ९ प्रतिशत एसएनएफ हुन्छ । उनले भने, ‘उद्योगीहरुले दुधबाट साढे एक प्रतिशत फ्याट र एसएनएफ झिकेर गुणस्तर नभएको दुध बजारमा बेचेका छन् ।’

सो दुधबाट चिल्लो पदार्थ निकालेर दुग्धजन्य पदार्थ बटर, घिउ, पाउडर लगायत बेच्ने गरेको उनको आरोप छ । यसले गर्दा दुधको गुणस्तर कमसल भएको उनको भनाइ छ ।

packet dudh  (1)

 दुधमा हुने फ्याट र एसएनएफ के हो ?

फ्याट र एसएनएफले दुधको स्वाद र गुणस्तर निर्धारण गर्ने डेरी विज्ञ नारायण श्रेष्ठले बताए । दुधमा हुने घिउको मात्रालाई फ्याट भनेर बुझिन्छ । ल्याक्टो, प्रोटिन, सुगर, क्याल्सियम, मिलिरल जस्ता दुधमा पाइने पदार्थ एसएनएफ भनेर बुझिने उनले बताए ।

दुधको गुणस्तर कति हुनुपर्छ ?

दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका, २०७५ अनुसार गाईको दुधमा घटीमा ३.५ प्रतिशत चिल्लो पदार्थ (फ्याट) हुनुपर्ने उल्लेख छ । यस्तै, भैंसीको दुधमा घटीमा ५ प्रतिशत फ्याट र मिश्रित दुधमा घटीमा ३.५ प्रतिशत फ्याट हुनुपर्ने भनिएको छ । तर बजारमा पाइने पोकाको दुध कुनैमा फ्याट कम, कुनैमा बढी पाइएको छ । बजारमा पाइने खुला दुधमा करिब ४ प्रतिशत फ्याट, प्याकेटको दुधमा कुनैमा ३ प्रतिशत, कुनैमा ५ प्रतिशत फ्याट पाइएको छ ।

यस्तै, गाईको दुधमा एसएनएफ घटीमा ७.५ प्रतिशत, भैंसीको दुधमा घटीमा ८ प्रतिशत र मिश्रित दुधमा घटीमा ८ प्रतिशत हुनुपर्ने निर्देशिकामा उल्लेख छ । बजारमा पाइने दुधमा करिब ८ प्रतिशत एसएनएफ पाइएको छ ।

नेपालमा दुध उत्पादन कति ?  

मुलुकमा दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने सरकारी तथ्याङ्क छ । मुलुकको सबै ग्रामीण भेगबाट संकलन गर्न सकेको खण्डमा दुधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था रहेको उद्योगीहरुको दाबी छ । करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न छन् ।

औपचारिक र अनौपचारिक रूपमा दुग्ध बिक्री वितरणबाट दैनिक दश करोड रुपैयाँ ग्रामीण क्षेत्रमा पुगेको उद्योगीहरुको भनाइ  छ । पछिल्लो समय उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको सरोकारवालाको दाबी छ ।

एकातिर लम्पी स्किन रोगको कारण पशुपालक किसानहरू ७५ अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्न बाध्य भएका छन् भने अर्कोतर्फ बिक्री गरिएको दुधको करिब ६ अर्ब रुपैयाँ बक्यौता दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले भुक्तानी नदिएको सरोकारवालाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप