आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलम्बु घटना : गोली चल्नुमा इन्स्पेक्टरको कमजोरी, विभागीय कारबाही सिफारिस

बुधबार, ३० फागुन २०८०, १७ : ३१
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई छानबिन प्रतिवेदन बुझाएको हो । ६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो । सो घटना छानबिन गर्न ७ फागुनमा छानबिन समिति गठन गरिएको थियो ।

इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको कमजोरीका कारण गोली चलेको छानबिन समितिको निष्कर्ष छ । गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए । छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

श्रेष्ठले पेस्तोल चेकजाँच गर्दा अचानक पड्किएको समितिमा बयान दिएका छन् । तर, ‘वेपन क्लियरिङ जोन’ मा हतियार चेकजाँच गर्नुपर्नेमा श्रेष्ठले कार्यालयभित्र नै चेकजाँच गरेको हुनाले उनको ‘व्यावसायिकतामा त्रुटि’ देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रतिवेदन बुझाएको र त्यसबारे अध्ययन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने, ‘प्रतिवेदन अध्ययन गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’

घटनापछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ । प्रतिवेदनको आधारमा उनलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीले भने, ‘सो घटना हाम्रो आन्तरिक छानबिनको विषय हो ।’

माघ २५ मा पनि बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवलदार हेमराज एलजीको मृत्यु भएको थियो । राति सवा ११ बजेमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । त्यसबारे छानबिन गर्न गठित समितिले पनि यसअघि नै प्रतिवेदन बुझाइसकेको छ । भ्यानको चालक सहायक हवलदार रामप्रसाद यादवलाई सवारी ज्यान मुद्दा चलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप