सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वीरेन्द्रनगरमा सार्वजनिक जमिन संरक्षण अभियान

उद्योग वाणिज्य संघले व्यवसायीलाई दियो धोका, नगरपालिकाले चलायो डोजर

बुधबार, ३० फागुन २०८०, २० : २६
बुधबार, ३० फागुन २०८०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालको निर्देशनमा प्रहरीको सुरक्षा घेराबिच सार्वजनिक जमिनमा बनेका संरचनामा डोजर चलाइएको छ । वीरेन्द्रनगर नगरपालिका–६, स्थित घण्टाघर, हटियालाइन, गोदामलाइन र हङकङ बजार क्षेत्रमा व्यवसायीले निर्माण गरेका भौतिक संरचना डोजर चलाएर भत्काइएको हो ।

बुधबार बिहान ११ बजे नगरका केही कर्मचारी र डोजर वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर हटियालाइनमा पुग्नासाथ व्यवसायीहरु सामान उठाउन थाले । नगरको डोजरले घण्टाघर लाइनको पसल भत्काउन सुरु गरेपछि व्यवसायीहरु आक्रोशित हुँदै डोजरमाथि ढुङ्गा प्रहार गर्न थाले । डोजरको सिसा फुट्नका साथै चालक लगायत तीन जना कर्मचारी घाइते भए । पछि नगरप्रमुख मोहनमाया ढकालले प्रशासनसँग समन्वय गरिन् र दिउँसो तीन बजे प्रहरीको सुरक्षा घेराभित्र रहेर डोजर चलाइयो ।

व्यापार गर्नका लागि बनाइएका संरचना भत्काएपछि व्यवसायीहरु बिचल्लीमा परेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आफूहरुलाई धोका दिएको व्यवसायीहरुको गुनासो छ ।

माघ १७ गते नगरपालिकाले सार्वजनिक सूचना निकालेर उक्त क्षेत्र ३५ दिनभित्र छाड्न व्यापारीहरुलाई चेतावनी दिएको थियो । आर्थिक मन्दीको बिचमा व्यवसायीहरुलाई कुनै विकल्प नदिइएको, अन्त जाने ठाउँ नभएको भन्दै व्यवसायीहरु अन्यौलमा परे । त्यसपछि उनीहरु आफ्नो संरक्षक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलकहाँ पुगे । ‘आर्थिक मन्दी छ, अन्त जान निकै गाह्रो छ, उधारो उठाउन पनि बाँकी छ, कम्तीमा दुई वर्ष म्याद थप्ने वातावरण मिलाइदिनुस्,’ कँडेलसामु व्यवसायीहरुले माग राखे ।

कँडेलले व्यवसायीहरुलाई चिन्ता नलिन आग्रह गरे । उनले यसबारे निर्णय नै गराउँदै मंगलबार (२९ गते) प्रशासनमा सर्वदलीय, सर्वपक्षीय बैठक बसाल्ने र कुनै पनि हालतमा व्यवसायीको संरचनामाथि अहिलेकै अवस्थामा डोजर चलाउन नमिल्ने बताइरहेका थिए । उद्योग वाणिज्य संघकै भरोसा पाएर व्यवसायीहरु सामान सार्न र संरचना भत्काउनको साटो शनिबारदेखि नगरपालिकाविरुद्ध सटर बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार राति ९ बजेसम्म नगरपालिकाको कार्यालयमा उनीहरुले धर्ना दिएका थिए । तर, नगरप्रमुख ढकालसँग छलफलमा रहेका उद्योग वाणिज्य संघका अध्यक्ष कँडेल भने पछाडिबाट कतिबेला भागे भन्ने कुरा व्यवसायीले पत्तै पाएनन् ।

पीडित व्यवसायी संघर्ष समितिका अध्यक्ष विपीन ठाकुर भन्छन्, ‘उहाँ (कँडेल)ले हामीलाई यति धेरै ढाँट्नु भयो कि तपाईँहरुले सुन्नुभयो भने छक्क पर्नुहुन्छ ।’

आफूहरुले दुई वर्षको समय माग गरेको र दुई वर्षपछि आफ्नो व्यवस्थापन आफैँ मिलाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ । उनले भने, ‘त्यो बेला मसँगै नगरपालिकामा उहाँ (कँडेल) पनि जानुभयो । उहाँले दसैँ तिहार काटेपछि हेरौँला भनिदिनुभयो । मेयरले त्यो कुरा दिमागमा राखिहाल्नुभयो । त्यो बितेपछि ३५ दिने सूचना आयो ।’

आफूहरुले ३५ दिने सूचना जारी भएपछि उद्योग वाणिज्य संघमा कुरा राखेको तर मेयर पनि हाम्रै प्रतिनिधि हो भन्दै आफूहरुलाई आश्वस्त पारिएको ठाकुर बताउँछन् । अध्यक्ष कँडेलले व्यवसायीहरुलाई आशा नदेखाइ सामान व्यवस्थापनमा लाग्न भनिदिएको भए एक हप्ता अघिदेखि नै व्यवसायीहरु आफ्नो सामान व्यवस्थापनमा लाग्ने थिए भन्ने उनको जिकिर छ ।

नगरले माइकिङ सुरु गर्दा कँडेलले आफूहरुलाई भरोसा दिलाउँदै ‘तपाईँहरु चिन्ता नलिनु, डोजर चलाए पहिला म अगाडि जाउँला, पछाडि तपाईँहरु बस्नुहोला’ भनेको पनि ठाकुरको दाबी छ ।

कँडेलले मंगलबार बोलाउने भनेको सर्वदलिय बैठक पनि नबोलाएको उनले बताए । उनी भन्छन्, ‘हिजो कतिबेला कहीँ जान्छु, कहिबेला कहीँ जान्छु भनेर झुक्याइरहे, नगरमा मेयरसँग छलफल गर्न पठायौँ तर, उहाँहरुले राति ९ बजाउनुभयो र राति नै हाम्रो अध्यक्ष र मेयर पछाडिबाट भाग्नुभयो, हामी अगाडि कुरेको कु¥यै ।’

त्यसपछि आफूहरुको फोन पनि कँडेलले नउठाएको उनको भनाइ छ । आफ्नै संरक्षक संस्थाले समेत धोका दिने चाल पाएर व्यवसायीहरुले बुधबार बिहानैदेखि सामान उठाउन सुरु गरेको उनले बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष कँडेल भने आफूले संरचना तत्काल भत्काउनबाट रोक्ने प्रयास गरे पनि नगरले नमानेको बताउँछन् ।

नगरपालिकाले डोजर लगाएको क्षेत्रमा १२५ जना साना व्यवसायीले व्यापार गरिरहेका थिए । उनीहरु ५० को दशक यता नगर विकास समितिको जमिन भाडामा लिएर संरचना बनाइ व्यापार गर्दै आएका थिए ।

नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाउने योजना अगाडि बढाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप