बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुम्लाको चंखेलीमा खानेपानी मर्मत आयोजनामा अनियमितता
बिहीबार, ०१ चैत २०८०, १६ : २९
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार भएको देखिएपछि तत्कालीन गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  आर्थिक वर्ष २०७४/०७५ मा मर्मतका लागि छुट्याएको रकमबाट पाँच लाख १५ हजार एक सय ८ रुपैयाँ ९७ पैसा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष चौलागाई, प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब (इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढासँगै चंखेली गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम बिगोसहितको जरिवाना र कैद सजायको मागदावी लिएको छ । 

ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरी आफू समेतलाई गैर कानुनी लाभ र नेपाल सरकारलाई गैर कानुनी हानी पुर्‍याउने बदनियतले वास्तविक रूपमा काम भएको भन्दा बढी पाँच लाख १५ हजार एक सय ८ रुपैयाँ ९७ पैसा भुक्तानी दिएको आरोप गाउँपालिका प्रमुखसहित कर्मचारीविरुद्ध छ ।

उपभोक्ता समितिका पदाधिकारीले भने मिलेमतोमा बढी भुक्तानी लिएको आरोप छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानबाट अनियमितता गरेको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप