सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा १२४ जनालाई जग्गाधनी पुर्जा वितरण

शुक्रबार, ०२ चैत २०८०, १७ : ५०
शुक्रबार, ०२ चैत २०८०

हेटौँडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले स्थापनादेखि हालसम्मको अवधिमा मकवानपुरका १२४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । २०७८ भदो २५ गते गठित उक्त आयोगले हालसम्म मकवानपुरका ३ स्थानीय तहका ५० जना भूमिहीन दलित तथा सुकुम्वासी र ७४ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

आयोगले मकवानपुरको बकैया र बागमती गाउँपालिकाका भूमिहीन सुकुम्वासी तथा दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो भने हेटौँडा उपमहानगरपालिकाका ६९ जना र बागमतीका ५ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको हो ।

आयोग मकवानपुरको तथ्याङ्क अनुसार बागमतीका ४ र बकैया गाउँपालिकाका २ भूमिहीन दलित तथा बागमती ३५ र बकैयाका ९ भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण गरिएको हो । हेटौँडाका ६९ र बागमतीका ५ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको आयोगले जनाएको छ ।

भूमिहीन दलित र सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पुर्जा वितरण गर्दै आएको छ । आयोग मकवानपुरले अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा उपलब्ध गराए वापत २९ लाख ३६ हजार १४० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

जग्गा दर्ता तथा पुर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहीन दलित तथा सुकुम्वासीको विवरण स्वीकृत भएर आएको आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौंलागाईले जानकारी दिए ।

उनका अनुसार आयोगको सूचना प्रणालीमा भूमिहीन सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबासी र सट्टा भर्नाका लागि १७ हजार २५२ निवेदन तथ्याङ्क प्रविष्ट गरिएको छ । आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले भूमिहीन दलित ३४०, भूमिहीन सुकुम्वासी २ हजार २६०, अव्यवस्थित बसोबासी १४ हजार ६५०  र सट्टा भर्ना २ जनाको निवेदन प्रविष्ट गरिएको उनले बताए ।  

आयोगले जग्गा दर्ता तथा वितरणका हेटौँडाको वडा नम्बर ११, ९ र ७ का ८०० भन्दा बढी लाभग्राहीको विवरण तयार भएको उनले बताए ।  बागमतीको १, २ र ६ को १४० भन्दा बढी लाभग्राहीको विवरण तयार पारिएको छ भने बकैयामा लाभग्राही विवरण अनुसार जग्गा नाप नक्सा कार्य भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप