शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अनौपचारिक क्षेत्रका श्रमिकको उपचारमा सरकारले दायित्व बहन गर्नुपर्छ : प्रदीप पौडेल

शनिबार, ०३ चैत २०८०, १३ : ३९
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले अनौपचारिक क्षेत्रका श्रमिकको उपचारमा सरकारले दायित्व वहन गर्नुपर्ने बताएका छन् । इनोभा अस्पताल र नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघबिच स्वास्थ्य उपचार शुल्कमा सहुलियत सम्झौता सम्बन्धी कार्यक्रममा नेता पौडेलले अनौपचारिक क्षेत्रका श्रमिक राज्यको मुख्य प्राथमिकमा पर्नुपर्ने बताए । 

उनले भने, ‘निजामती कर्मचारी, प्रहरी, सेनाहरूको स्वास्थ्य उपचारको लागि अस्पतालहरु खुलेका छन् । तर सबैभन्दा बढी जोखिममा रहेका निर्माण क्षेत्रका श्रमिकका लागि उपचार गर्न कुनै अस्पताल छैन । उनीहरूलाई कुनै सहुलियतको व्यवस्था पनि छैन । यसमा वर्गीय संस्थाले पनि दबाब दिनु सकेका छैनन् । राज्यले प्राथमिक नदिएको अवस्था छ ।’ 

इनोभा अस्पतालले निर्माण क्षेत्रका श्रमिकको सबै प्रकारको उपचारमा ४० प्रतिशत छुट दिने गरी नेपाल निर्माण तथा सम्बद्ध संघसँग सम्झौता हुने सुखद भएको पौडेलले बताए । 

काठमाडौँ ५ बाट निर्वाचित सांसद पौडेलले आफूले काठमाडौँका अन्य अस्पतालमा पनि श्रमिकलाई उपचारमा छुट पाउने व्यवस्थाका लागि लबिङ गर्ने बताए ।  अनौपचारिक क्षेत्रका श्रमिकको बीमाका लागि वर्गीय संस्थाले सशक्त दबाब दिनुपर्नेमा उनको जोड थियो । कार्यक्रम नेपाल निर्माण तथा सम्बद्ध संघका अध्यक्ष प्रदीप आचार्यले इनोभा अस्पतालसँगको सम्झौताले ३० लाख श्रमिक लाभान्वित हुने बताए । 

उनले भने, ‘गिट्टी, ढुंगा, क्रसर, इट्टा, लगायतका क्षेत्रमा काम गर्ने नेपालमा झन्डै ३० लाख श्रमिक छन् । निर्माण व्यवसायीले मात्र १९ लाखलाई काम नै दिएको तथ्याङ्क छ । यी ३० लाख श्रमिकको अभिभावक बनेर इनोभा अस्पतालले उदाहरणीय काम गरेको छ ।’ 

यस्तै इनोभा अस्पतालका अध्यक्ष गोकुलप्रसाद पन्तले निर्माण क्षेत्रका श्रमिकको कार्ड भएकाहरूको ४० प्रतिशत छुटमा आजैबाट उपचार सुरु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप