सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायुसम्बन्धी जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न गभर्नरको निर्देशन

शनिबार, ०३ चैत २०८०, १७ : २९
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई सो कुरामा सचेत गराएका हुन् । 

गभर्नर अधिकारीले त्यत्रो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृष्टान्त पेस गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भने मनन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराए। उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

गभर्नर अधिकारीले भने, ‘इन्भारोमेन्टल र सोसियलसँग गाँसिएकाका रिस्कहरू अझै जबरजस्त रिस्कहरू छन् । हाम्रो प्रत्यक्ष उदाहरण छ–मेलम्ची । त्यत्रो लगानी गरेर हामीले बनायौँ । एउटा बाढीले सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुँदो हो, बैंकको अवस्था के हुन्थ्यो ? त्यसले कति लस क्रिएट गर्दथ्यो ? त्यसले गर्दा बैंक, वित्तीय संस्थाले भोलिको दिनमा आफूले लगानी गरिराख्दाखेरी ख्याल गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा इन्भारोमेन्टल रिलेटेड राष्ट्र बैंकले निर्देशन पनि जारी गरेको छ । २०१८ मा नै यो जारी गरिएको हो । र २०२२ मा त्यसलाई रिभाइज गरिएको छ । त्यसैगरी क्लाईमेट रिलेटेड अध्ययनहरू पनि भइराखेको छ । हामीले यही साल मात्रै २०८० मा मात्रै ग्रिन फाइनान्स टयाक्स इकोनोमीको डकुमेन्ट एक्सरसाइज गरिराखेका छौँ । त्यो पब्लिक कन्सलटेशनका लागि लगिसकेका छौँ । त्यसकारण केन्द्रीय बैंक, नेपाल सरकार सबै यो क्लाइमेटसँग गाँसिएको रिस्कमा कमिटेड छ । सम्माननीय प्रधानमन्त्रीज्यूले कोप–२८ मा गएर पनि हाम्रो कमिटमेन्टहरु स्पष्ट रूपमा रिफ्लेक्ट गर्नुभएको छ । त्यसले गर्दा बैंक, वित्तीय संस्थाको तर्फबाट पनि हामीले लगानी गर्दा क्लाइमेटसँग रिलेटेड रिस्कहरूलाई हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा हामी दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहनेछौँ, हुनेछौँ । र हाम्रो आन्तरिक व्यवस्थापनमा पनि जोखिम नियन्त्रणका लागि त्यत्तिकै सबल हुनेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप