शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फूलमा आत्मनिर्भर हुन उत्पादनमा जोड दिनुपर्छ : मन्त्री साह

शनिबार, ०३ चैत २०८०, १८ : १४
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले फूलमा आत्मनिर्भरका लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ भृकुटीमण्डपमा तीन दिनदेखि जारी २५औँ फ्लोरा एक्स्पो अवलोकन गर्दै उनले सो कुरा बताएकी हुन् ।

फूलको विभिन्न जातमा नेपाल धनी भएपनि त्यसको संरक्षण र प्रवर्द्धन नगरेको कारण आत्मनिर्भर हुन नसकेको बताउँदै उनले वन जङ्गलमा फूलहरू त्यतिकै खेर गइरहेका छन्, ती सबैको संरक्षणको आवश्यकता रहेको बताइन् ।

जङ्गलमा रहेको फूलहरू पहिचान गरी त्यसलाई व्यावसायिक रूप दिए त्यसबाट पनि फाइदा लिन सकिने बताउँदै मन्त्री साहले फूलमा आत्मनिर्भरका लागि उत्पादनमा जोड दिनुपर्छ र त्यसका लागि बाँझो जग्गालाई उपयोगमा ल्याउने बताइन् ।

नेपालमा उत्पादन भएपछि बिक्रि नभएका फूलहरू खेर जाने गरेका छन्, त्यो खेर नजाओस् भनेर सरकारले शितभण्डारको व्यवस्था गर्ने बताइन् ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । भोलिसम्म मेलालाई करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए । दुई दिनमा पचास लाखको कारोबार भएको उहाँले बताउनुभयो ।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका फ्यानका अध्यक्ष तामाङले जानकारी दिए । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको फ्यानले जनाएको छ । विशेष गरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास फ्यानले लिएको छ । फूलमा वार्षिक तीन अर्ब सात करोड रुपियाँको कारोबार हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप