शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भूतपूर्व सैनिक महत्त्वपूर्ण सम्पत्ति : प्रधानसेनापति शर्मा

आइतबार, ०४ चैत २०८०, १८ : २७
आइतबार, ०४ चैत २०८०

काठमाडौँ ।  प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरू सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतः स्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको र यस्तो जनशक्ति हिजोका दिनहरूमा जस्तै आज पनि महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको कुरा बताएका छन् । उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरूको सहभागितामा सैनिक मञ्च टुँडिखेलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापतिले सो कुरा बताएका हुन् ।

सो अवसरमा नेपाली सेनाका सकलद‌र्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोष‌को रकमबाट बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत‌का क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास भइरहेको शर्माले जानकारी गराएका थिए । उनले हिताधिकारीको सेवा सुविधा विस्तारको लागि नयाँ नयाँ कार्यक्रमहरू समावेश गरेर मात्र नपुग्ने, त्यसका लागि सबै जना जिम्मेवार, जागरूक, लगनशील र उद्यमशील हुनुपर्ने कुरामा जोड दिए ।

समारोहमा ९९ (उनान्सय) वर्षकी ज्ञान कुमारी उपाध्यायलाई ज्येष्ठ एकल महिला सम्मान एवं ९७ वर्षका प्रमुख सुबेदार बेल बहादुर गुरुङ (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान प्रदान गरिएको थियो । १०० वर्षका अमल्दार खिमबहादुर बोहोरा क्षेत्री (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व शताब्दी पुरुषका रूपमा अभिनन्दनको व्यवस्था मिलाइएको थियो । 

त्यसै गरी, सर्वोत्कृष्ट उद्यमी भएका अमल्दार रुद्र बहादुर गुरुङ (अ.प्रा.) र उत्कृष्ट उद्यमी भएका जमदार कृष्ण श्रेष्ठ (अ.प्रा.) को श्रीमती सविता श्रेष्ठलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सो क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका १६ (सोह्र) जना अभिभावकहरूलाई सम्मान गरिनुका साथै, विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक हस्तान्तरण गरिएको थियो । यस्तै, फरक क्षमता भएका तथा अशक्त २० जनालाई व्हिल चेयर तथा २२ (बाइस) जनालाई अन्य उपकरण वितरण गरिएको थियो । 

आजै काठमाडौँको वाहिटी, बालाजु र सुन्दरीजल, ललितपुरको लगनखेल, भक्तपुरको सुर्यविनायक र गठ्ठाघर, काभ्रेपलाञ्‍चोकको धुलिखेल एवं सिन्धुपाल्चोकको चौतारामा पनि भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप