सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री पौडेलद्वारा नेमकिपासँग सरकारको समर्थन माग

आइतबार, ०४ चैत २०८०, २१ : ०९
आइतबार, ०४ चैत २०८०

हेटौँडा । बागमती प्रदेशमा ३ सांसदसहित प्रतिनिधित्व गरेको नेमकिपासँग सरकारको समर्थन माग गर्न पूर्व मुख्यमन्त्री डोरमणि पौडेल भक्तपुर पुगेका छन् । आइतबार पूर्व मुख्यमन्त्री पौडेलले सरकारको समर्थन माग गर्दै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भेट गरेका हुन् ।

नेता गोसाईको भक्तपुरस्थित निवासमा पूर्व मुख्यमन्त्री पौडेलले भेट गरेका थिए । भेटमा पूर्व मुख्यमन्त्री पौडेलले वर्तमान सत्ता गठबन्धनलाई समर्थन दिएर सहयोग गर्न आग्रह गरेका थिए । अहिलेको परिस्थिति असहज रहेकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहयोग आवश्यक रहेको बताएका थिए ।

उनले विगतमा नेमकिपाले संसद् र सरकारमा निकै जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको बताएका थिए । नेमकिपाको विचार सिद्धान्तअनुसार सरकारले आफ्ना भूमिकालाई परिष्कृत गर्न सक्ने भएकाले त्यसतर्फ छलफल केन्द्रित गर्नुपर्ने बताएका थिए । भेटमा पूर्व मुख्यमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारलाई सहयोग गर्न नेता गोसाईंलाई भनेका थिए ।

प्रतिक्रियामा नेता गोसाईले तत्काल सरकारलाई समर्थन दिनेतर्फ आफूहरू नरहेको बताएका थिए । बागमतीमा सत्ता गठबन्धनमा निर्णायक मानिएका दलहरूले सत्ता साझेदारी गर्न सक्ने धेरै सम्भावना रहेकाले नेमकिपा आफ्नो भूमिका सशक्त रहने बताएका थिए । 

एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेलले सरकार र गठबन्धनका विषयमा नेमकिपासँग छलफल भएको बताए । छलफलमा नेमकिपाले सरकारको नेतृत्व टुंगो लगाउन र त्यस पछि आवश्यक सहकार्यका विषय अघि बढाउन आग्रह गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप