शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुँवरको कार्यकाल ६ महिना थप

वार्षिक साधारण सभामा विभिन्न ३ वटा सम्झौता
सोमबार, ०५ चैत २०८०, १७ : १२
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विनोद कुँवर पक्षले काठमाडौँमा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट विधानअनुसार कुँवरको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको छ । अदालतमा एनआरएनएको आधिकारिकताको विवाद बाँकी रहेको तथा अन्य प्राविधिक कारण देखाउँदै कुँवरको कार्यकाल ६ महिना थप गरिएको जनाइएको छ । 

‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सम्पन्न साधारण सभामा ४२ देशका प्रतिनिधि सहभागी भएको कुँवरले जानकारी दिए । उनकाअनुसार साधारण सभाको उद्घाटन संघका संरक्षक डा. शेष घलेले गरेका थिए । घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैर आवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए । केही समस्या देखिए पनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दत्तचित्तले लागेको बताउँदै घलेले नागरिकतालगायतका विषयमा अझै सङ्घर्ष जारी रहेको बताए । 

‘हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ । लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन’, घलेले भने । उनले नागरिकतालाई कागजको खोस्टोमा सीमित बनाउन नहुने समेत बताए । 

यस्तै अध्यक्ष कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनुपर्ने बताए । उनले १० औं महाधिवेशनमा विधिलाई नमान्नेहरुकै कारण संघमा विवाद उत्पन्न भएको बताए । 

‘हामीले संस्थालाई विधिमा लैजाऊ भनेका थियौँ, केही साथीहरूले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो । हामी अझैपनि विधिवत् रूपमा संघलाई अगाडि बढाऔँ भनिरहेका छौँ’, कुँवरले भने । उनले त्यसैको लागि आफूहरूले महाधिवेशन रोकेर वार्षिक साधारण सभा गरेको बताए । 

आफूहरूले आवाज उठाएको २० वर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा सीमित अधिकार तोकिएकोले समस्या समाधान नभएको बताए । 

कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए । उनले आफूहरूले संघको विधान र विधि मानेकोले मूलधार भएको बताए ।

अर्को उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिएका थिए । 

NRNA 1

साधारण सभाको बन्दशत्रमा एनसीसी, आरसी, महासचिव, कोषाध्यक्षको रिपोर्ट प्रस्तुत गरिएको थियो ।  साधारण सभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । 

त्यसैगरी साधारण सभामा मनोरेलसहित तीनवटा महत्त्वपूर्ण सम्झौता समेत भएका छन् । काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन् । 

पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत सङ्गीता कार्कीले हस्ताक्षर गरेका छन् । 

संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियन नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । 

त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् । 

त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ । भूकम्पमा खट्ने र सहयोग गर्ने संघका प्रतिनिधि तथा एनसीसीलाई सम्मान समेत गरिएको थियो । 

त्यसैगरी संघका गतिविधिलाई संचारमाध्यममार्फत जनतामाझ पुर्याएको भन्दै संवाद डबलीको अध्यक्ष दिपेन्द्र रावल र रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देललाई सम्मान गरिएको थियो ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप