बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

हतियारको लाइसेन्स हुँदा पनि किन पक्राउ परे दुर्गा प्रसाईंका बडिगार्ड ?

मङ्गलबार, ०६ चैत २०८०, २० : ००
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । सोमबार सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित पक्राउ परे । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल रहेका थिए । 

सोमबार सर्वोच्च अदालत परिसरबाट उनीहरू पक्राउ परेलगत्तै व्यवसायी दुर्गा प्रसाईंले हतियारको लाइसेन्स रहेको र लाइसेन्स रहेको व्यक्तिले हतियार बोक्दा पनि पक्राउ गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका थिए । तर प्रहरीले भने प्रसाईंले लिएको हतियारको लाइसेन्स रहेको भए पनि हतियारको बाहक अर्कै व्यक्ति भएको र संवेदनशील क्षेत्रमा हतियार बोकेर गएको कारण पक्राउ गरिएको स्पष्ट पारेको छ ।

इटालीमा बनेको सेम-अटोमेटेड र फोल्डिङ गर्न मिल्ने पोइन्ट २२ को उक्त हतियार प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७९ पुस ७ गते लाइसेन्स लिई दीपक खड्कालाई बाहक बनाएका थिए । हतियार चलाउन जान्ने सीप पनि चाहिने भएकाले प्रसाईंले उक्त हतियार चलाउनका लागि भन्दै दीपक खड्कालाई बाहकका रूपमा राखेका थिए । 

432425166_941334680929820_5422842937325575496_n

लाइसेन्स दिने समयमा नेपालभर जुनसुकै क्षेत्रमा लिएर हिँड्न पाउने र आवश्यकतामा प्रयोग गर्न पाउने गरी लाइसेन्स नम्बर १०१३१ बाट दिइएको थियो । तर सोमबार उक्त हतियार प्रसाईंका बडीगार्ड दीपक खड्काले बोकेको नभई रामकुमार धितालले बोकेका थिए । त्यसबाहेक सर्वोच्च अदालत परिसरभित्र छिर्दा चेकजाँच गराई हतियार रहेको स्वघोषणा गरेर मात्रै अनुमति भएमा लैजान पाइन्छ । 

तर प्रसाईंका बडिगार्डले न हतियार रहेको स्वघोषणा गरे, न चेकजाँच नै गराए । बाहक दीपक खड्काभित्र छिरेर अर्का बडिगार्ड रामकुमार धिताललाई हतियार रहेको झोला दिएका थिए । प्रहरीले चेकजाँच गर्दा झोलामा हतियार भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । 

सर्वोच्च अदालत सुरक्षा गणका प्रमुख एसपी विनोद सिलवालका अनुसार सर्वोच्च अदालतमा लाइसेन्स भए पनि हतियार बोकेर जान पाइँदैन । व्यक्तिगत सुरक्षाका लागि लिइएको हतियार बोकेर अदालत, विद्यालय लगायतका संवेदनशील क्षेत्रमा जान पाइँदैन । त्यसबाहेक लाइसेन्समा बाहक भनिएका व्यक्तिले हतियार नबोकी अन्य व्यक्तिले बोकेको समेत कारणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप