सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समय : कसले के भने ?

बुधबार, ०७ चैत २०८०, १२ : ५३
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य खतिवडाले सरकारको इन्जिन काम नलाग्ने भएको बताएका हुन् ।

उनले सरकारले गियर परिवर्तन गरे पनि केही काम नगर्ने बताए ।  उनले सरकारको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोगहरू गठन गर्ने उल्लेख गरिएको भन्दै सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी गठन गर्छ भन्नेमा आशङ्का व्यक्त गरे ।

उनले जनतालाई नढाँट्न आग्रह गरे । सांसद खतिवडाले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गर्न माग गरे ।

उनले भने– ‘केही दिनअगाडि प्रधानमन्त्रीज्युले संसद्‌मा बोलेको सुनेँ । सरकारको गियर परिवर्तन गर्नुपर्‍यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभास हामीलाई भएको छ ।’ 

त्यस्तै शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य रुपा विकले सीआइबी प्रमुख श्याम ज्ञवालीलाई घुस लेनदेनको आरोप लागेको भन्दै उनलाई छानबिन गर्न माग गरिन् । ज्ञवालीको जन्म मितिमा समेत विवाद देखिएको भन्दै यसमा पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ । छानबिन गर्नुपर्ने व्यक्तिलाई नै छानबिन गर्ने निकायको प्रमुख बनाइएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन्– ‘कुनै मुद्दा वा आरोप नलागीकन सरकारी निकायको नेतृत्वमा जान नपाइने नीति बनेको हो ? यदि होइन भने सरकारी निकायहरूमा विवादित र आरोपीहरूलाई किन जिम्मेवारी दिइँदैछ ? हालै सीआइबीका जिम्मेवारी पाएका श्याम ज्ञवाली पनि घुस लेनदेनको आरोप र प्रहरी सेवा प्रवेशमा जन्म मिति विवादित बनेको छ । आरोप र विवाद देखिएपछि छानबिन गर्ने हो कि ? छानबिन गर्ने निकायकै प्रमुख बनाउने हो ? म प्रधानमन्त्रीबाट जवाफ चाहन्छु, सीआइबी प्रमुखमाथिको आरोप र विवादको निष्पक्ष छानबिन हुन्छ कि हुँदैन ? जवाफ चाहिन्छ ।’

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले प्रत्येक प्रदेशमा नागरिक अस्पताल खोलेर विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न बजेट व्यवस्था गर्न सरकारसँग माग गरे ।  उनले भने– ‘संविधानमा व्यवस्था भएको मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्न न्यूनतम प्रत्येक प्रदेशमा एक/एकवटा विपन्न नागरिक अस्पताल खोलेर निःशुल्क उपचार गर्न व्यवस्था गर्ने निर्णय गरी यसको व्यवहारिक कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न म नेपाल सरकार समक्ष अनुरोध गर्छु ।’

प्रतिनिधिसभा सदस्य मिना तामाङले नेपालका किसानलाई वर्गीकरण गरी किसानमैत्री नीति र बजेट बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्– ‘किसान बाहुल्य देश नेपालको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रमा आधुनिकीकरण, विविधीकरण, व्यवसायीकरण गर्दै नेपालको संविधान २०७२ ले परिकल्पना गरेको अनुसारको समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण गर्नका लागि नेपालका किसानको वर्गीकरण गरी किसानमैत्री बजेट, नीति बनाइ सामाजिक न्याय सहित बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

शून्य समयमा बोल्ने अन्य सांसदहरूले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा तथा मागहरू राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप