मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बाबुरामको म्यासेज– भित्र्याउनुस् उहाँहरूलाई, किन रडाको मच्चाएको ?

बुधबार, ०७ चैत २०८०, १७ : २८
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीमा प्रवेश गर्न चाहने आफ्नो पार्टीका नेताहरूलाई भित्र्याउन आग्रह गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई म्यासेज पठाएका छन् । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भित्रिने निर्णय गरिसकेकाहरूलाई चाँडो पार्टीमा भित्र्याउनुस् भनेर प्रचण्डलाई म्यासेज पठाएको जानकारी दिए । ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु । उहाँहरूले मरिहत्ते गरेपछि भित्र्याउनुस्, किन रडाको मच्चाएको भनेर,’ बाबुरामले भने 

उनले अगाडि भने, ‘उहाँहरूलाई जान हामीले रोकेकै छैन । उहाँहरू सिधै अर्काको पार्टीमा जाने भन्दै हुनुहुन्छ । सम्झौता पनि गरिसक्नुभएको छ । यहाँ हस्तक्षेप किन गर्नु ? यो पार्टीलाई नै किन लानुपर्‍यो उहाँहरूले ? उहाँहरू आफू गए त भइहाल्यो नि ।’ 

उनले आफूहरूसँग पार्टीको ७० प्रतिशत बहुमत रहेको दाबी गरे । ‘हिसाब गर्दा त ७० प्रतिशत कार्यकारिणी सदस्य हामीसँग छन् । उहाँलाई ४० प्रतिशतको समस्या परेको हो । अहिले त्यो कानुन पनि छैन । उहाँले लिङ्गरिङ गरेर थकाउने, गलाउने काम गर्न खोज्नुभएको छ । त्यसो नगर्नुहोस् भन्न चाहन्छु ।’

अर्को पक्षसँग ४० प्रतिशत नपुगेका कारण हस्ताक्षर संकलन गरिरहेको उनको भनाइ छ । ४० प्रतिशत नपुगे पनि माओवादीमा जानेहरूको पद नखोस्ने भट्टराईले बताए । ‘मैले साथीहरूलाई पनि भनेको छु, तपाईंहरू जानुस्, तपाईंहरूको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौँ’, उनले भने,  ‘सक्नुहुन्छ हामीलाई साथ दिनुहोस् भन्ने आग्रह हो । सक्नुहुन्न ससम्मान जानुहोस् । राजनीतिमा रडाको गर्नुहुन्न ।’

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप