आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
हुण्डी

हुण्डी कारोबारी नरेश अग्रवालले सह–प्रतिवादीलाई बयान फेर्न लगाए

दिवस कार्कीको बैंक खातासमेत नरेश अग्रवालले चलाउँथे
बिहीबार, ०८ चैत २०८०, १० : ३९
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएका विवादित व्यापारी नरेश अग्रवालले आफूसँगै पक्राउ परेका प्रतिवादी दिवस कार्कीलाई आफू अनुकूल हुने गरी बयान गर्न लगाएको पाइएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा दिवसले सो कुरा खुलाएका हुन् । 

कम धरौटी खुल्ने भएकाले नरेशले आफूले दिएको रकमभन्दा ज्यादै कम रकम मात्रै आफूले दिएको हो भनी बयान गर्न लगाएको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र वीरेन्द्रबहादुर माझीसामु बयान गर्ने क्रममा दिवस कार्कीले आफूले त्यसअघि दिएको बयान नरेश अग्रवालले सिकाए बमोजिम गरिदिएको खुलाएका हुन् । 

नरेश अग्रवालले आफू अपराधबाट बच्नका लागि दिवस कार्कीलाई दिएको रकम मध्ये पनि थोरै मात्रै रकम हो भनी उक्त रकम पनि सापटी दिएको भन्न लगाएका थिए । बागलुङ नगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना भई काठमाडौँ महानगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय कार्कीलाई आर्थिक प्रलोभनमा पारेर नरेश अग्रवालले हुण्डीको कारोबारमा लगाएको खुलासा भएको हो ।  

पहिले दिवस कार्कीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयान हेरौँ :

‘मलाई मिति २०८०।१०।०४ गतेदेखि राजश्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबार सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरेकाले थुनामा रहेको छु । पैसाको लेनदेन सापटीको सिलसिलामा मेरो नरेश अग्रवालसँग चिनजान भएको हो । मेरो निजसँग कुनै नाता सम्बन्ध छैन । मैले ३–४ महिना अगाडि एकजना भारतीय नागरिकसँग टेकुमा हुनु पर्छ चिया पसलमा भेट भएको थियो । त्यतिबेला कोरियन भाषा परीक्षा फेल भएर एन्जाइटीको समस्यामा थिएँ । निजलाई म चिन्दिन उसले नै मलाइ अर्को भारतमा भएको मानिससँग ह्वाट्सएपबाट कुरा गराएको थियो । मलाई निजको नामथर केही थाहा छैन । निजले फोनमा भने बमोजिम हुण्डीको कारोबार गर्न थालेको हुँ । निजले मलाई प्रति लाख सुरुमा ५०–६० रुपैयाँ आउँछ भनेका थिए पछि आफ्नो पैसा लगाउँदा १०० रुपैयाँ देखि ११० रुपैयाँसम्म दिन्थ्यो । कहिले पैसा अपुग हुँदा मैले नरेश अग्रवालसँग सापटी लिन्थे । बजारबाट उठेपछि २–४ दिनमा पैसा फिर्ता गर्थेँ । मेरो चिनजान दीपक शाह ठकुरी नामका मानिससँग पक्राउ पर्नु ३–४ महिना अघि भएको थियो । रकम लेनदेनको सिलसिलामा चिनजान भएको हो । नरेश अग्रवालबाट रकम बरामद भएको थाहा छ तर कति रकम भन्ने मलाई थाहा छैन । निजको पेशा समेत मलाई थाहा छैन । निजको साथबाट बरामद भएको रकम उपर मेरो कुनै हकदाबी छैन । मेरो साथबाट रु. २१ लाख ६३ हजार २९० समेत बरामद भएको छ । सो रकम रु. १७ लाख ६३ हजार २९० बजार बाट उठाएको र बाँकी रु. ४ लाख रुपैयाँ नरेश अग्रवालबाट सापट लिएको हो । मैले कारोबार गर्दा बैकिङ प्रणालीबाट पनि एक–दुई पटक कारोबार गरेको छु । मेरो ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा खाता रहेको छ ।’

दिवस कार्कीको साथबाट पक्राउ पर्दाका बखत २१ लाख ६३ हजार २९० रुपैयाँ बरामद भएको थियो । मौकाको बयानमा कार्कीले उक्त रकम हुण्डीको कारोबार भएको र क्षेत्रपाटी बस्ने नरेश अग्रवालबाट ल्याई दीपक शाह ठकुरीलाई दिन लागेको बताएका थिए । 

तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लिएको बयानमा भने दिवसले बोली फेरे । उनले नरेश अग्रवालसँग ४ लाख रुपैयाँ मात्रै ल्याएको र त्यो रकम पनि सापटी भएको बताए । साथै आफ्नो बैंक खाता ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा मात्रै रहेको बताए ।

तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा भने दिवसको अन्य बैंकमा पनि खाता रहेको र करोडौँ रकमको शङ्कास्पद कारोबार भएको पाइएको थियो । दिवस कार्कीको कारोबारका सम्बन्धमा विभागलाई वित्तीय जानकारी इकाईबाट फाइनान्सियल इन्टेलिजेन्स प्राप्त भएको थियो । 

दिवस कार्कीले विभागसँगको प्रारम्भिक बयानमा नरेश अग्रवालको रकम, आफ्नो बैंक खाता आदिबारे झूट बोलेको भएपनि अन्य प्रमाण देखाएपछि उनले नरेश अग्रवालसँग २ वर्ष अगाडिदेखि चिनजान भएको र नरेश अग्रवालले भने अनुसारकै हुण्डीको कारोबार गरेको ततिम्बा बयान दिए । 

कार्कीको पहिलो ततिम्बा बयान यस्तो छ :

‘उक्त रकम मेरो रकम नभई नरेश अग्रवालको रकम हो । म विगत १–२ वर्षदेखि निजसँगै काम गर्ने गरेको थिएँ । निजले मलाई मेरो खातामा रकम हाल्थे । त्यो रकम मैले निजले भने अनुसारका विभिन्न मानिसहरूलाई दिने गर्दथे । तर मैले रकम वितरण गर्ने काम भन्दा पनि मेरो खातामा रकम राख्ने र निज नरेश अग्रवालले भने अनुसारका बैंक खातामा सो रकम इलेक्ट्रोनिक माध्यमबाट उपलब्ध गराउने काम गर्दथे । मैले यो काम गरे बापत निज नरेश अग्रवालबाट मासिक अधिकतम ३५,००० रुपैयाँसम्म पाउने गरेको थिएँ । यो काम गैर कानुनी हो भन्ने मलाई थाहा थिएन । राजश्व अनुसन्धान विभागबाट म समेत अग्रवाल पक्राउ परेपछि राजश्व अनुसन्धान विभागमा मलाई मैले नरेश अग्रवालबाट लिएको रकम ४ लाख मात्र हो र बाँकी रकम अन्तबाट ल्याएको रकम हो भन्नु तिम्रो धरौटी म हाल्दिन्छु, एकै मिलानको बयान भयो भने हामी चाँडै छुट्छौँ भनेर ब्यहोरा सिकाएकाले मैले सोही ब्यहोरा लेखाएको छु । तर मैले जानेर कुनै गलत काम गरेको छैन । मैले केही पैसा पाउने आशामा उक्त रकमको कारोबार जीवनयापनका लागि मात्र गरेको हुँ । मबाट बरामद भएको रकम निज नरेश अग्रवालको हो । सो रकमका वास्तविक धनी निज नरेश अग्रवाल हुन् । बरामद भएको रकम म पक्राउ परेको मिति २०८०।१०।०४ गतेका दिन निज नरेश अग्रवालले नै मलाई दिनको ४ बजेतिर दिएका हुन् । उक्त रकम दीपक शाह ठकुरीलाई दिनु भनी मलाई जिम्मा दिएका थिए । ... निज नरेश अग्रवालले धरौटी रकम तिरी दिन्छु, बयान मैले भने अनुसार लेखाउनु भनेकाले मैले सुरुमा यस विभागमा गरेको कागजको ब्यहोरा केही फरक पर्न गएको छ ।’

  • हुण्डी कारोबारका लागि दिवसकै बैंक खाता चलाउँथे नरेश

दिवस काकीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान अनुसार दिवस कार्कीका नाममा रहेका अन्य बैंक खाता समेत नरेश अग्रवालको हुण्डी लगायतका अवैध कार्यका लागि प्रयोग भएको खुलेको छ । एनआईसी एसिया बैंक बाहेकका अन्य खाताहरू आफ्नो प्रयोजनका लागि नभएर नरेश अग्रवालको प्रयोजनका लागि खोलेको दिवसले बयान दिएका छन् । 

कार्कीले बयानमा भनेका छन्,

‘सुरुमा मेरो खाता एनआईसी एशिया बैंकमा थियो । सो बाहेकका सबै खाताहरू नरेश अग्रवालले भने बमोजिम निजकै लागि कारोबार गर्न खोलेको हुँ । यो सबै रकम नरेश अग्रवालले भने बमोजिम मेरो खातामा जम्मा भएको हो । उक्त रकम र कारोबारका वास्तविक धनी नरेश अग्रवाल हुन् । रकमको स्रोतका बारेमा मलाई  थाहा छैन । नरेश अग्रवाललाई थाहा होला । मैले मासिक अधिकतम ३५,००० रुपैयाँ पाउँथे । नरेश अग्रवालसँगै पक्राउ परेपछि मात्र निज नरेश अग्रवाल गैर कानुनी कार्यमा संलग्न रहेछन् भन्ने मलाई थाहा भयो । सो रकमको आर्थिक उद्देश्य निज नरेशलाई थाहा हुनु पर्छ, निजलाई नै बुझी पाउँ ।’

कार्कीले आफ्नो बयानमा अगाडि भनेका छन्, 

‘... मैले जानी जानी कसुरबाट प्राप्त रकमको कारोबार गर्नका लागि मेरा नाममा ४ वटा खोलेको नभई नरेश अग्रवालले भने बमोजिम खाता खोली कारोबार गरिदिएको हुँ । मैले कसुरबाट प्राप्त रकम मेरा नामका खाता मार्फत स्वामित्व धारण गरी कारोबार गरेको हुँ । तर यो सबै कारोबार नरेश अग्रवालले भने बमोजिम निजकै लागि गरेको हुँ । सम्पत्ति शुद्धीकरणको कसुरका कसुरदार नरेश अग्रवाल हुन् । मैले गरेको कारोबार निजका तर्फबाट गरिदिएको हुँ ।’

तर नरेश अग्रवालले भने दिवसको खाता आफूले प्रयोग नगरेको र दिवस पक्राउ परेको दिन आफूले ४ लाख रुपैयाँ मात्रै दिवसलाई दिएको जिकिर गरिरहे । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नरेश अग्रवाल र दिवस कार्कीलाई सँगै राखी बयान लिएको थियो । नरेश अग्रवाल र दिवस कार्कीको रोहवर बयान यस्तो छ :

दिवस कार्कीको जवाफ : मैले निज नरेश अग्रवालबाट रु. ४,००,००० सापटी लिनु पर्ने कुनै कारण छैन । निजले मलाई रु. २१,६३,२९० नै दिएका हुन् । मलाई कुनै घरायसी कामकाज लगायत केही काम गर्नु परी त्यति धेरै पैसाको आवश्यकता नै छैन । यो रकम निज नरेश अग्रवालले मलाई दीपक शाह ठकुरीलाई दिनु भनी दिएको रकम हो । यसमा फरक छैन । हुण्डीको रकम रहेछ भन्ने थाहा पाएँ । 

नरेश अग्रवालको जवाफ : मैले राजश्व अनुसन्धान विभागदेखि नै बयान गर्दा मैले निज दिवस कार्कीलाई दिएको रकम रु. ४,००,००० मात्र हो भनेको छु । मैले निजलाई रु. २१,६३,२९० रकम दिएको छैन । रु. ४००,००० हामीबिचको लेनदेनको रकम हो । मैले दीपक शाह ठकुरी नामका मानिसलाई चिनेकै छैन ।

  • बैंक खाता सञ्चालनका सम्बन्धमा :

नरेश अग्रवालको जवाफ : निजका नामका खाताको कारोबार मैले भने अनुसार भएको होइन । 

दिवस कार्कीको जवाफ : मैले मेरा नामका खाताको कारोबार गरेको रकम मेरो रकम होइन । नरेश अग्रवालले भने बमोजिमका मानिसले रकम जम्मा गरेका हुन् र सो रकम समेत निजले नै भनेका मानिसलाई भुक्तानी दिएको रकम हो । यसमा फरक छैन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको बैंक खाताबाट भएको कारोबारको विश्लेषण गर्दा दिवस कार्कीको नाममा खोलिएको सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र लक्ष्मी सनराइज बैंकमा ६ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको पाइएको छ ।

यस्तो छ दिवस कार्कीको नाममा रहेको खाताबाट नरेश अग्रवालका लागि भएको हुण्डी कारोबारको विवरण :

Diwash Karki Karobar Bibaran

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणको मुद्दामा दिवस कार्कीलाई ७ करोड १० लाख ३१ हजार ३४३ रुपैयाँ ६८ पैसा बिगो कायम गरी सो रकमको दोब्बर जरिवानाको मागदाबी लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप