आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

‘केदार कार्की नेतृत्वको सरकार एक महिनाभित्र स्वतः हट्छ’

बिहीबार, ०८ चैत २०८०, २२ : ४६
बिहीबार, ०८ चैत २०८०

विराटनगर । नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको सरकार एक महिनाभित्र स्वतः परिवर्तन हुने दाबी गरेका छन् ।

रातोपाटीसँग कुराकानी गर्दै कार्कीले एमाले र माओवादीसँग सरकार गठन गर्नसक्ने विकल्प रहेको दाबी बताउँदै प्रदेशसभा विघटन गर्न कांग्रेसकै नेताहरूले नदिने दाबी पनि गरे । उनले संविधानको धारा १६८ (५) अनुसार बनेको सरकार विस्थापित गर्दै उपधारा (२) अनुसार अर्को सरकार बन्न सक्ने पनि बताए । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक विघटन गर्दा पनि विकल्प हुन्जेल पार्लियामेन्ट विघटन हुँदैन भन्ने सिद्धान्त स्थापित भयो । त्यो संविधानको अहिलेसम्मको उपर्युक्त व्याख्या हो,’ कार्कीले भने, ‘दोस्रो कुरा उपधारा ५ मा पुगेको सरकार ५ बाट नयाँ बन्दैन विघटनतर्फ जान्छ भन्ने एउटा तर्क उठेको छ । यसबिचमा हामीले पनि सर्वोच्च अदालतको फैसला र मुलुकका संविधानविद्हरुसँग छलफल गर्दा यहाँ पनि विकल्प हुन्जेल ढल्दैन भन्ने कुरा स्वतः लागू हुन्छ ।’

कार्कीले राजनीतिक कोर्ष बदलिएपछि पनि यही सरकार ५ वर्ष जान्छ भन्ने तर्कको खण्डन गरे ।

‘२०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उपधारा २ अनुसार सरकार बनेको थियो । पछि २०७५ जेठ ३ गते पार्टी एकता भयो । त्यो सरकार धारा १ मा फर्कियो,’ उनले भने, ‘त्यसबेला सरकार पुनर्गठन त भएन । तर, पार्टी एक भयो भनेर चिठी लेखेर संसदमा र राष्ट्रपतिलाई दिएपछि स्वतः उपधारा १ को सरकार भयो । त्यसले गर्दा अहिलेको संविधानको धारा प्रयोगको सन्दर्भमा पनि त्यो अभ्यास छ ।’ तर सरकार गठनको आव्हान गर्दा कुन उपधारा अनुसार आव्हान गर्ने भन्ने कुरा प्रदेश प्रमुखको हातमा रहेको उनले बताए । 

अर्को प्रसङ्गमा उनले एमालेको प्रदेश समिति र आफ्नो तर्फबाट मुख्यमन्त्रीमा दाबी नरहेको बताए । ‘हाम्रो चारवटा दलमध्ये जो पनि मुख्यमन्त्री हुनसक्छ । हाम्रो पार्टीको तर्फबाट स्थानीय प्रदेशले दाबी गर्दैन । माथिको राजनीतिक निर्णय आएअनुसार हुन्छ,’ कार्कीले भने, ‘माथि कार्यदल बनेको छ । उहाँहरूले छलफल गर्दा यो प्रदेश जसपालाई दिने भएपनि हुन्छ, एकीकृत समाजवादी भए त्यो पनि हुन्छ, माओवादी भनेपनि हुन्छ, हामी एमाले हिजोअस्ती भइसकेको छ सेकेण्ड पालामा हुने भन्दा पनि तयार । पालोपिलो हुन्छ । अहिले सामान्यतः राजेन्द्र राई मुख्यमन्त्री भइसक्नु भएको छ । म पनि मुख्यमन्त्री भइसकेको छु । इन्द्र आङ्बोजीले स्वभावैले मलाई सहयोग गर्नुपर्‍यो भन्नु भएको छ । त्यसैले मेरो दाबी छैन ।’ यद्यपि माथिबाटै टुंगिएर एमालेको भागमा आए आफू मुख्यमन्त्री बन्ने उनले बताए ।

उनले आफ्नो पार्टी र पार्टीका सांसदहरूले विकल्प खोजौँ तपाई नबन्नु भन्ने अवस्था आयो भने आफूले जोडबल पनि नगर्ने बताए । ‘पार्टीमा छलफल हुँदा साथीहरूले विकल्प खोजौँ भन्नुभयो भने त्यो पनि हुन्छ । म नहुँदा हुन्छ भन्ने साथीहरूले छलफल गर्नुभयो भने म तयार नै छु नि । म यसलाई सहजतापूर्वक लिन्छु,’ कार्कीले भने । उनले केन्द्रमा बहुसंख्यक बामहरू एक ठाउँमा आएर बनेको गठबन्धन अन्तिम अवसर भएको र यसलाई टिकाएर लानुपर्नेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप