शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

केन्द्रमा अड्कियो सत्ताको चाबी, अन्योलमा बागमती

कांग्रेस अस्थिरता निम्त्याउन चाहन्छ: मुख्यमन्त्री जम्कट्टेल
शनिबार, १० चैत २०८०, १५ : २६
शनिबार, १० चैत २०८०

काठमाडौँ । केन्द्रीय तहमा भागबण्डा नहुँदा बागमती प्रदेश सरकारको भविष्य अन्योल बनेको छ । सत्ता गठबन्धन परिवर्तनपछि बागमती प्रदेश सरकारको पनि समीकरणमा परिवर्तन आएको थियो । तर, सत्ता समीकरण परिवर्तन भएको २ साता पूरा भइसक्दासमेत बागमती प्रदेश सरकारको भविष्यबारे अन्योल कायम रहेको हो ।

सत्ता गठबन्धनसँग स्पष्ट बहुमत नहुँदा दलहरू साना पार्टीको समर्थनको खोजीमा तीव्र दौडधुपमा छन् । सरकार टिकाउन र नयाँ सरकार बनाउन सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको कसरत फलदायी बन्न सकिरहेको छैन । जसका कारण सरकारको भविष्य अनिश्चित बनिरहेको छ । 

गत २३ गतेदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल सरकारको भविष्यलाई लिएर अन्योलमा देखिएका छन् । सरकार टिकाउन कसरत गरिरहेका उनी न सरकार विस्तार गरेर अघि बढ्न सकेका छन् न नै गठबन्धन दला सरकार हस्तान्तरण गरेर नयाँ शिराबाट अघि बढ्ने रणनीति बनाउन सकेका छन् । उनको दैनिकी केबल केन्द्रको निर्णय कुरेर बस्नु बनेको छ ।

उनी सहित सत्ता गठबन्धनको अवस्था उस्तै छ । केन्द्रले सबे प्रदेशको नेतृत्व क्लियर गरिदिए सरकार गठन र विस्तारको काम गर्न दलहरू तयारी अवस्थामा छन् । तर, केन्द्रले सरकारको नेतृत्व तोकिदिएको छ । न नै अहिलेको सरकारको निरन्तरताको बाटो खुल्ला गरिदिएको छ ।

प्रदेश सरकारको तालाचाबी केन्द्रले कब्जा गर्दा बागमतीमा थप अन्योल देखिएको छ । कमजोर धरातलमा कायम रहेको सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन मात्र १ सांसद अपुग छ । एक सांसदको खेलोमा दलहरू आफ्नो तर्फबाट लागिरहेका छन् । एकातर्फ साना दलको उच्च माग र अर्कोतर्फ विपक्षी दल कांग्रेसको प्रहार सहेर बस्नु पर्ने बाध्यता वर्तमान सरकार समक्ष रहेको छ ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार केन्द्रीय तहका नेताले सरकारको नेतृत्व टुङ्ग्याउन नसक्दा प्रदेश सरकारका विषयमा अलमल भएको छ । केन्द्रीय स्तरका नेताको व्यस्तताका कारण प्रदेश सरकारको भागबण्डा र समीकरणका विषयमा निर्णय हुन नसकेको हो । उक्त निर्णय आए लगत्तै प्रदेश सरकारले निकास पाउने उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालका अनुसार छिट्टै नै गठबन्धनका शीर्ष नेताहरूले प्रदेश सरकारको नेतृत्वको भागबण्डा टुङ्ग्याउने छन् । सरकारको नेतृत्वको विषयमा गठबन्धन दलको तर्फबाट आ–आफ्नो माग दाबी गरिएको र सो विषयमा छिट्टै नै निकास प्राप्त हुने उनको भनाई छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार केन्द्रले ७ प्रदेशको समग्र अङ्कगणितलाई सन्तुलन गरी भागबण्डा टुंगउनु पर्ने भएकाले ढिलो भएको हो । प्रदेश सरकारको नेतृत्वको विषयमा आज भोली नै केही निर्देशन प्राप्त हुने उनले बताए ।

  • संवैधानिक अड्चनको खतरा

केन्द्रले भागबण्डा नटुंग्याउँदा प्रदेश सरकारमाथि संवैधानिक अड्चन देखापर्ने खतरा नजिकिएको छ । बागमती प्रदेश सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेलले आगामी चैत २२ गते भित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्छ । 

सरकारको समर्थन गरेको दल वा सांसदले समर्थन फिर्ता लिएको ३० दिन भित्र मुख्यमन्त्रीले पुनः संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । गत फागुन २३ मा समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

जसअनुसार सरकारको नेतृत्व परिवर्तन भएको खण्डमा बाहेक मुख्यमन्त्री जम्कट्टेलसँग अब थोरै समय मात्र बाँकी छ । केन्द्रको भागबण्डा कुर्दा मुख्यमन्त्री जम्कट्टेलका १८ दिन बितिसकेका छन् । मुख्यमन्त्री जम्कट्टेलसँग अब १२ दिनको समय मात्र बाँकी छ । यो १२ दिनमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने वातावरण र सत्ता समीकरणमा साना दलहरूलाई सरकार विस्तार गरी सामेल गर्नुपर्ने बाध्यता रहेको छ ।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार केन्द्रको निर्णयविरुद्ध गएर तत्काल सरकार विस्तार र विश्वासको मत लिन अवस्था छैन । केन्द्रको निर्णय प्राप्त भएपछि मात्र सरकार विस्तार, सत्ता समीकरण र विश्वासको मत लिने काम अघि बढ्ने उनले बताए ।

‘केन्द्रीय स्तरको निर्णय आउन सकेको छैन । हामीले पहल गरिरहेका छौ । सरकार विस्तार समीकरणका लागि छलफल पनि गरिरहेका छौँ । केन्द्रको ठोस निर्णय आए सहज हुन्थ्यो । आज भोली नै हुन्छ भनिएको छ । तर हुन सकेको छैन । अब समय पनि थोरे छ । हेरौँ के हुन्छ ।’ मुख्यमन्त्री जम्कट्टेलले भने ।

यता एकीकृत समाजवादीका नेता शर्माका अनुसार केन्द्रबाट निर्णय प्राप्त नहुँदा सरकार एक पछि अर्को संवैधानिक अड्चनको जोखिममा परेको छ । विश्वासको मत लिनुपर्ने बाध्यता एका तर्फ छ भने अर्को तर्फ बजेट निर्माणको चरण पुरा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार फागुन महिनामा सरकारले विषयगत मन्त्रालयको बजेट सिलिङ तोकेर काम अघि बढाउनु पर्ने हो । तर, केन्द्रबाट ठोस निष्कर्ष प्राप्त नहुँदा बजेट सिलिङ तोक्न पनि कठिन भएको छ । सरकारको नेतृत्वको विषय नटुङ्गिँदा प्रि बजेट छलफल, बजेट कार्यक्रम तर्जुमा लगायतका चरणहरूमा समेत समस्या खेप्न बाध्य भएको उनले बताए ।

  • कांग्रेस अस्थिरता निम्त्याउन चाहन्छ: मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कांग्रेसले राजनीतिक स्थिरता नचाहेको आरोप लगाए । कांग्रेसले बागमती प्रदेशमा अस्थिरता कायम गर्न खोजिरहेको उनले बताए ।

वर्तमान सरकारको काममा अवरोध खडा गरेर कांग्रेस असहज परिस्थिति निर्माणमा जुटेको उनको भनाई छ । कांग्रेसका केही सांसदहरू गठबन्धनलाई असफल बनाउन लागि परेको उनको आरोप छ । कांग्रेसका केही सांसदहरू साना दलहरूलाई प्रलोभनमा पारेर सरकारको नेतृत्व हत्याउने पक्षमा लागि परेको उनको भनाई छ ।

‘कांग्रेस प्रदेशमा अस्थिरता कायम गर्न खोजिरहेको छ । कांग्रेसका केही सांसदहरू गठबन्धन दललाई असफल बनाएर सरकार बनाउने सपना बुनिरहेका छन् । विभिन्न प्रलोभन र लालच देखाएर सरकार गठन गर्ने कांग्रेसको सपना पुरा हुन सक्दैन । बागमती प्रदेशमा गठबन्धन दलको नै सरकार बन्छ । त्यसका आशङ्का नराखे हुन्छ । बागमतीमा कांग्रेसको सरकार बन्दैन,’ उनले भने ।

उनका अनुसार केन्द्रीय तहको निर्णय आए लगत्तै सरकारले आफ्नो गति लिएर अघि बढ्ने छन् । सम्भवतः १/२ दिनमा नै केन्द्रले सरकारको नेतृत्वको भागबण्डा टुङ्ग्याउने उनको भनाई छ । अन्य प्रदेशको अनुकूलता हेरेर सरकारको नेतृत्वको भागबण्डा गर्नुपर्ने भएकाले समय लागेको उनले बताए । बागमतीको अङ्क गणितीय विशिष्ट प्रकृतिको रहेकाले केन्द्रबाट निर्णय आउन ढिला भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप