सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

सोमबार, १२ चैत २०८०, १२ : ४७
सोमबार, १२ चैत २०८०

मोरङ । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । 

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । 

त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको उनले बताए । 

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । 

युरोप, अमेरिका लगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप