आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला

सोमबार, १२ चैत २०८०, २० : ०१
सोमबार, १२ चैत २०८०

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी तटमा गत साता करिब एक सय ५० व्यक्ति सवार डुङ्गा डुबेपछि कम्तीमा ११ रोहिङ्ग्या शरणार्थीको शव फेला परेको अधिकारीहरूले सोमबार बताएका छन् । 

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुद्रिक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीहरूले ७५ जनाको उद्धार गरिसकेपछि शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य बन्द गरेका थिए । यद्यपि बचेका केही मानिसले केही दिनअघि उनीहरूको डुङ्गा र उद्धार गर्न आएको डुङ्गा पल्टिँदा दर्जनौँ मानिस डुबेको बताएका थिए । 

स्थानीय खोज तथा उद्धार अभियानका प्रमुख मुहम्मद फत्तुर रचमनले करिब आधा दर्जन रोहिङ्ग्यालाई समुद्री किनारबाट २६ किलोमिटर टाढा समुद्रमा मृत फेला पारेको बताए । “अहिले थप छ जनाको शव निकाल्ने काम भइरहेको छ”, उनले सोमबार भने, “ती सबै महिला थिए, हामीले एक माझीबाट शवहरूबारे सुनेका थियौँ, शवहरूलाई अस्पताल लगिने छ ।”

यसअघि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का अधिकारीहरूले हालैका दिनहरूमा पाँच जनाको शव फेला परेको बताएका थिए । 

डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए । 

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिग्रँदो स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठुलो आगमन भएको बताएको छ । -(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप