सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उम्मेदवार चयनको तयारीमा कांग्रेस, इलाम-२ र बझाङमा कसको सम्भावना ?

मङ्गलबार, १३ चैत २०८०, १५ : २६
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले उप-निर्वाचनका लागि उम्मेदवार चयनको आन्तरिक छलफल थालेको छ । आगामी वैशाख १५ मा हुने इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार चयनबारे कांग्रेसले आन्तरिक छलफल थालेको हो । 

कांग्रेसले चैत १८ मा कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकबाट इलाम— १ र बझाङ प्रदेशसभा (१)को उम्मेदवारी चय गर्ने छ । कांग्रेसका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस भएर आइसकेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।

मातहतका समितिबाट सात जनाको नाम सिफारिस भएपनि कांग्रेसले आचार्य र खड्का मध्ये एक जनालाई उम्मेदवार बनाउने देखिएको छ । इलामको अवस्था बुझ्न कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दाम्बे खटिएका छन्। 

‘अहिले हामी इलाम—२ को वस्तुगत स्थिति अध्ययन गरिरहेका छौँ । चैत १८-१९ गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक बस्छ । यहाँको वस्तुस्थिति हेरेर हामीले योग्य उम्मेदवार चयन गर्छौँ,’ महामन्त्री शर्माले भने । 

२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।  यसअघि नेम्बाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । 

एकीकृत समाजवादीले बझाङको प्रदेशसभा (१) मा आफूलाई समर्थन नगरे इलाम—२ मा पनि उम्मेदवारी दिने अडान लिएको छ ।

पोहोर मङ्सिर ४ मा भएको आम चुनावमा कांग्रेसका खड्कालाई माओवादी र एकीकृत समाजवादीको समर्थन थियो । उपनिर्वाचनमा कांग्रेसले माओवादी र एकीकृत समाजवादीको साथ पाउने अवस्था छैन । गत फागुन २१ मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जसपासहितको नयाँ सत्ता समीकरण बनेको छ । सत्ता गठबन्धनमै रहेको रास्वपाले इलाम-२ मा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । यता एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् । 

एकीकृत समाजवादीले बझाङको प्रदेशसभा (१) मा आफूलाई समर्थन नगरे इलाम—२ मा पनि उम्मेदवारी दिने अडान लिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनमा माओवादी र एकीकृत समाजवादी मिलेर चुनावमा जाने सम्भावना औँल्याएका थिए । 

एमालेले बझाङ प्रदेशसभा (१)मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा एकीकृत समाजवादीले बझाङ प्रदेशसभा (१)मा दाबी गरेको छ । एकीकृत समाजवादीको दाबीले बझाङ प्रदेशसभा १ मा गठबन्धनको साझा उम्मेदवार बन्ने अहिलेसम्म अवस्था देखिएको छैन । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बझाङ प्रदेशसभा १  आफ्नो पार्टीले नपाए गठबन्धनमा तालमेल नहुने बताए । 

उनले भने, ‘गठबन्धनमा बझाङ प्रदेशसभा (१)मा हाम्रो दाबी छ । त्यहाँ हामीले पाएनौँ भने इलामामा पनि उम्मेदवार उठाउँछौँ । आफ्नै ढङ्गले अगाडि बढ्छौँ ।’

कांग्रेसबाट बझाङ प्रदेशसभा (१)का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी,  विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ । 

गत मङ्सिर ४ मा भएको चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित हुँदा एमालेका फलिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए । 

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएपछि बझाङ प्रदेशसभा १ मा उपचुनाव हुन लागेको छ । कांग्रेसबाट जगत जोशीले टिकट पाउने सम्भावना बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप