शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
त्रिविको लापर्बाही

बारम्बार कसरी हराउँछन् त्रिभुवन विश्वविद्यालयका उत्तरपुस्तिका ?

गैरजिम्मेवारीपनका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड
बिहीबार, १५ चैत २०८०, १० : ३३
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न विषयमा चरम लापर्बाही देखिन्छ । तीमध्ये एउटा उदाहरण हो उत्तरपुस्तिका हराउनु । यो समस्या वर्षौंदेखि विद्यमान छ । विगतमा उत्तरपुस्तिका हराएपछि गुपचुपमै पुनः परीक्षा गरिन्थ्यो । कुनैकुनै विषयमा त उत्तरपुस्तिका हराएपछि कापी परीक्षण नै नगरी विद्यार्थीलाई स्वतः पास गराउने गरेको कर्मचारीहरू बताउँछन् ।

त्रिविका एक प्राध्यापकका अनुसार केही समय अगाडि उत्तरपुस्तिका हराएको पाइयो । परीक्षामा हाजिरी देखियो तर, उत्तरपुस्तिका नभेटिएपछि अघिल्लो वर्षमा ती विद्यार्थीको जति नम्बर आएको थियो, उक्त परीक्षामा समेत सोही आधारमा नम्बर दिइएको उनले बताए ।

एक पटक स्नातक तहको प्रथम वर्षका एक विद्यार्थीले परीक्षामा एक घण्टासम्म केही पनि लेखेनन् । एक घण्टापछि शौचालय जाने बहानामा उत्तरपुस्तिका नै बोकेर उनी घरतिर लागेछन् ।

गार्डले कक्षा कोठाबाट बाहिर निस्केर गेटमा पुगेको देखेपछि सुरक्षाकर्मीलाई समाउन लगाए । ती परीक्षार्थीलाई गार्डले समातेर उत्तरपुस्तिकासहित ल्याए । धन्न उनी भाग्न पाएनन् । उनी भागेको भए उत्तरपुस्तिका हराएको हुने थियो र उनलाई पनि पास गर्नुपर्ने हुन्थ्यो ।

यस्ता खालका घटना त्रिविमा सामान्य जस्तै भइसकेका छन् । यतिबेला भने दुई वटा विषयका उत्तरपुस्तिका हराएको विषय चर्चामा छ । स्नातक तह प्रथम वर्ष जनसंख्या ‘पीओपी–४२२’ विषयको उत्तरपुस्तिका हराएको छ । त्यस्तै अछाम परीक्षा केन्द्रबाट स्नातक तह प्रथम वर्षकै ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ विषयको समेत उत्तरपुस्तिका हराएका छन् ।

दुवै विषयलाई परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले गुपचुप राख्न खोजेको थियो । उक्त विषय सार्वजनिक भएपछि पनिकाले पुनः परीक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

जनसंख्या विषयको उत्तरपुस्तिका हराएको क्याम्पसहरूको मात्रै चैत २१ गतेदेखि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ । उक्त प्रकरण पनिकाले आन्तरिक छानबिन थालेको छ । त्यस्तै उपकुलपति कार्यालयले समेत छानबिन थालेको छ ।

उपकुलपति प्राडा केशरजंग बरालले उत्तरपुस्तिका हराएको विषयमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले छानबिन समिति गठन गरेर सात दिनभित्र छानबिन गर्न र दोषी पत्ता लगाउन निर्देशन दिएका हुन् ।

बारम्बार हराउँछन् उत्तरपुस्तिका

त्रिविमा विद्यार्थीका उत्तरपुस्तिका हराउनु सामान्यजस्तै बनेको छ । २०७८ सालमा पनि झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । चार वर्षे बीबीएसको चौथो वर्षको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि पुनः परीक्षा लिइएको थियो ।

२०७८ पुस २७ मा लिइएको ‘बिजनेस रिसर्च मेथड्स’ को उत्तरपुस्तिका हराएपछि  २०७९ पुस २४ मा पुनः परीक्षा लिइएको थियो । एक वर्ष बित्दा पनि रिजल्ट नआएको भन्दै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । त्यसपछि जाँच लिएको ५ दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।

त्यस्तै २०७४ सालमा बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्ने बेलामा सिन्धुली बहुमुखी क्याम्पसका ६९ जना विद्यार्थीको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा दिनुपरेको थियो ।

२०७३ सालमा स्नातक तह अन्तर्गत बीएडको नेपाली विषयको उत्तरपुस्तिका समेत हरायो । महेन्द्ररत्न क्याम्पसबाट परीक्षा दिएका विद्यार्थीहरूको नतिजामा अनुपस्थित देखिएको थियो । पछि बुझ्दै जाँदा उत्तरपुस्तिका जाँचकीको लापरबाहीका कारण हराएको पाइयो ।

त्यतिबेला उत्तरपुस्तिका हराउने नेपाली विषयका एक प्राध्यापकलाई सामान्य कारबाही गरियो । त्यस्तै पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम वर्षको एकाउन्टिङ विषयको १९५ जना विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो ।

किन हराउँछ उत्तरपुस्तिका ?

पनिकाले कुनै पनि विषयको परीक्षा सञ्चालन गरिसकेपछि उत्तरपुस्तिका परीक्षण गर्न सम्बन्धित विषयका प्राध्यापकहरूलाई दिन्छ । प्राध्यापकहरूलाई उत्तरपुस्तिकाको गणना गरी पोको पारेर परीक्षण गर्न घरै लैजाने सुविधा दिन्छ । तर, कतिपय प्राध्यापकले घरमा लगेर राखेको लामो समयसम्म पनि परीक्षण नगर्ने गरेको पनिकाको आरोप छ ।

उनीहरू कापी थन्क्यार अन्य काममा नै व्यस्त हुने र उत्तरपुस्तिका परीक्षणमा निकै लामो समय पनिकाका एक सह–परीक्षा नियन्त्रकले बताए । लामो समयसम्म परीक्षण नगरी बस्ने र परीक्षण गर्नुपरे हतारमा परीक्षण गर्ने कारण नतिजामा लापर्बाही हुने गरेको ती सहनियन्त्रकको भनाइ छ । उनका अनुसार उत्तर पुस्तिका हराउने विभिन्न कारण छन् । घरमा लगेर मनपरी गर्ने, परीक्षण गरिसकेका उत्तरपुस्तिका सम्बन्धित कार्यालयमा बुझाइसकेपछि पनि हराउने गरेको उनले बताए ।

‘ठुलो संख्यामा उत्तरपुस्तिका हुँदा कहिलेकाहीँ हराउनु सामान्य मानिन्छ । त्यसमा विभिन्न कारण हुन्छन्,’ ती सहनियन्त्रकले भने, ‘उत्तरपुस्तिका परीक्षण गराउनेका हातबाट पनि हराउनसक्छ । यता आइसकेपछि पुराना र नयाँ उत्तरपुस्तिका मिसिएर पनि हराउन सक्छन् ।’ काम गर्ने क्रममा कहीँ कतै कमजोरी हुने गरेको भन्दै उनले यस्ता खालका गल्ती नदोहो¥याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका सचिव विष्णुप्रसाद पोख्रेलले उत्तरपुस्तिका हराउनुमा परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही भएको बताए ।

उत्तरपुस्तिका परीक्षण गर्नेले २० दिनभित्रमा उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उक्त समयमा कसैले उत्तरपुस्तिका नबुझाउने उनको भनाइ छ ।

यसरी उत्तरपुस्तिका हराउनु भने एकदमै चरम लापर्बाही भएको उनको भनाइ छ । यसमा जिम्मेवार पदमा रहेकाको चरम लापर्बाही रहेको भन्दै उनले भने, ‘सम्बन्धित कर्मचारीको पूर्ण रुपमा कार्यसम्पादनमा कमजोरी हो ।’

पनिकाले व्यवस्थित गर्न नसक्दा तथा जिम्मेवार पदाधिकारी सचेत नहुँदा यस्तो खालको समस्या देखिने गरेको उनको भनाइ छ । अरुले गरेको गल्तीका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड हुने गरेको उनले बताए ।

पटक पटक उत्तरपुस्तिका हराउने विषयमा त्रिविले समेत गम्भीर रुपमा नलिएको भन्दै उनले बेलाबेला यस्ता खालका समस्या आउने तर, देखाउनका लागि नाममात्रको छानबिन गर्ने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप