शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करीमा प्रतिवादी बनाइएका जीवन चलाउनेसँग एक दर्जन प्रहरी अधिकृतको नियमित सम्पर्क

एआईजी श्यामलाल ज्ञवालीसँग गत असारमै भएको थियो कुराकानी
बिहीबार, १५ चैत २०८०, १६ : १९
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न भनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनका आधारमा मुद्दा चलाइएका जीवन चलाउनेले करिब १ दर्जन प्रहरी अधिकारीसँग नियमितरुपमा कुराकानी गरेको पाइएको छ । रातोपाटीलाई प्राप्त चलाउनेको कल डिटेल्स रिपोर्टमा करिब एक दर्जन प्रहरी अधिकारीसँग चलाउनेको नियमित सम्पर्क भएको पाइएको हो । 

चलाउनेको सम्पर्क सबैभन्दा बढी पर्साका एसपी कुमोध ढुङ्गेलसँग भएको पाइएको छ भने एआईजी श्यामलाल ज्ञवालीसँग समेत चलाउनेको कुराकानी भएको प्रमाण प्राप्त भएको छ । चलाउनेले एआईजी श्यामलाल ज्ञवाली, डीआईजी दुर्गा सिंह, एसपीहरू कुमोध ढुङ्गेल, सीताराम रिजाल, रवीन्द्र रेग्मी र गौतम केसी, डीएसपीहरू रुगम बहादुर कुँवर, दीपक खड्का, गंगा पौडेल, पूर्णिमा चन्द र अनिल ठकुरीसँग नियमित कुराकानी भएको देखिएको हो ।

जीवन चलाउनेले प्रयोग गर्ने गरेको ९८५११२७xxx को नम्बरबाट एक दर्जन प्रहरी अधिकारीसँग नियमित कुराकानी भएको पाइएको हो । चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआईजी ज्ञवालीको मोबाइल नम्बर ९८५१२८०xxx मा एकपटक कुराकानी गरेको देखिएको छ । 

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बरमा २०८० असार १८ गते रातको ८ः३० मा करिब २ मिनेट कुराकानी भएको पाइएको छ । यद्यपि कुराकानी के विषयमा भएको हो भन्ने विषयमा भने न जीवनले बताएका छन् न एआइजी ज्ञवालीले यस विषयमा मुख खोलेका छन् । 

त्यसैगरी चलाउनेले आफ्नो मोबाइल नम्बरबाट डीआइजी दुर्गा सिंहसँग दुई पटक कुराकानी गरेको पाइएको छ । चलाउनले सिंहको मोबाइल नम्बर ९८५१२८०xxx मा कुराकानी गरेको पाइएको छ । 

त्यस्तै चलाउनेको सम्पर्क सबैभन्दा बढी एसपी कुमोध ढुङ्गेलसँग भएको पाइएको छ । तत्कालीन समयमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका एसपी ढुङ्गेलसँग विगत ९ महिनाको अवधिमा चलाउनेले ४४ पटक कुराकानी गरेको पाइएको हो । एसपी ढुङ्गेलको व्यक्तिगत मोबाइल नम्बर ९८५११८०xxx मा चलाउनेले उक्त समयमा ४४ पटक कुराकानी गरेको पाइएको हो । 

त्यस्तै अर्का एसपी सीताराम रिजालसँग पनि चलाउनेले ७ पटक मोबाइल फोन मै कुराकानी गरेको पाइएको छ । एसपी रिजालकी श्रीमतीसँग चलाउनेले भाइटिका लगाएको कारण चलाउनेले रिजाललाई भिनाजु भन्ने गर्छन् । यद्यपि एसपी रिजालले चलाउनेलाई मिटरब्याजमा रकम लगानी गरेको आरोप लाग्ने गरेको छ । चलाउनेले एसपी रिजालले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१२८५xxx मा ७ पटक कुराकानी भएको पाइएको हो । 

त्यसैगरी एसपीहरू रवीन्द्र रेग्मी र गौतम केसीसँग पनि चलाउनेले एक–एक पटक कुराकानी गरेको पाइएको छ । एसपी रेग्मीको मोबाइल नम्बर ९८५१२८७xxx र एसपी केसीको मोबाइल नम्बर ९८५१२८१xxx मा एक–एकपटक कुराकानी भएको पाइएको हो । एसपी रेग्मी हाल अपराध महाशाखामा कार्यरत छन् भने एसपी गौतम केसी हाल जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुख छन् । 

त्यसैगरी सुन तस्करी प्रकरणका प्रतिवादी जीवन चलाउने पाँच डीएसपीसँग नियमित संवाद गरेको पाइएको छ । 

चलाउनेले डीएसपी रुगम बहादुर कुँवरको मोबाइल नम्बर ९८५१२८१xxx मा ३५ पटक कुराकानी गरेको पाइएको छ । डीएसपी रुगम बहादुर कुँवरलाई सुन तस्करी जाँचबुझ आयोगले चलाउनेसँग सम्बन्ध के हो भनी सोधपुछसमेत गरी कागज गराएको थियो ।

त्यसैगरी अर्का डीएसपी दीपक खड्काको मोबाइल नम्बर ९८५१२८१xxx मा २६ पटक कुराकानी भएको पाइएको छ । चलाउने र खड्काको चिनजान र सम्बन्ध पनि पुरानो नै रहेको दाबी गरिएको छ । खड्काको पैसा चलाउनेले मिटर ब्याजमा चलाउने गरेको र अहिले पनि खड्काको ५० लाख रुपैयाँ चलाउनेले चलाएको र उक्त रकम अझै तिर्न बाँकी रहेको बताइएको छ । चलाउनेको भाञ्जाको नामबाट जारी भएको ५० लाख रुपैयाँको चेकबुक समेत डीएसपी खड्कासँग रहेको बताइएको छ । 

त्यस्तै अर्का डीएसपी गंगा पौडेलसँग पनि चलाउनेको नियमित सम्पर्क देखिएको छ । पौडेलको मोबाइल नम्बर ९८५१२८१xxx मा चलाउने र पौडेलबिच ७ पटक कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिन्छ । 

प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन । 

त्यस्तै अर्का डीएसपी पुर्णिमा चन्द र प्रतिवादी जीवन चलाउनेबिच पाँच पटक कुराकानी भएको पाइएको छ । चन्दको मोबाइल नम्बर ९८५१२८१xxx मा चन्द र चलाउनेबिच पाँच पटक कुराकानी भएको सीडीआर रिपोर्टमा देखिएको छ । चन्द हाल प्रहरी वृत्त स्वयम्भूको प्रमुख छिन् । 

त्यस्तै अर्का डीएसपी अनिल ठकुरीसँग पनि चलाउनेको ५ पटक नै कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिएको छ । ठकुरीको मोबाइल नम्बर ९८५१२८२xxx मा ठकुरी र चलाउनेबिच ५ पटक कुराकानी भएको देखिएको हो ।

नेपाल प्रहरीका सई शिव पोखरेलसँग पनि जीवन चलाउनेले कुराकानी गर्ने गरेको पाइएको छ । पोखरेलको मोबाइल नम्बर ९८५२०५५xxx मा चलाउने र पोखरेलबीच एक पटक कुराकानी भएको पाइएको हो । 

चलाउनेविरुद्ध मुद्दा दायर हुनुभन्दा अगाडिसम्म प्रहरीका अधिकृतहरूले चलाउनेसँग नियमित सम्पर्क गरिरहेको हो । तर चलाउनेविरुद्ध मुद्दा दायर भएपछि भने चलाउनेको उक्त मोबाइल नम्बर नै स्वीच अफ भएकाले कुराकानी गरेको पाइएको छैन ।

 उच्च तहका प्रहरी अधिकारीदेखि करिब एक दर्जन प्रहरी अधिकृतसँग चलाउनेको नियमित र अस्वाभाविक सम्पर्क भएको पाइएपनि सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले भने डीएसपी रुगम बहादुर कुँवरसँग मात्रै सोधपुछ गरी कागज गराएको थियो । प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन । 

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका चार प्रहरी अधिकृतमध्ये रुगमबहादुर कुँवर पनि एक थिए । आयोगले प्रतिवेदनमा चलाउनेलाई भगाउनमा कुँवरले सहयोग गरेको र उनीसँग नियमित सम्पर्क देखिएको आरोप लगाएको छ । 

आयोगले आफ्नो प्रतिवेदनमा चलाउने र डीएसपी कुँवरबिच २ हजार ४ सय पटक कुराकानी भएको दाबी गरेको भएपनि कल डिटेल्स रिपोर्टमा भने ३५ पटक मात्रै कुराकानी भएको पाइएको छ । आयोगले सबैभन्दा बढी सम्पर्कमा रहेका एसपी कुमोध ढुङ्गेल र बारम्बार सम्पर्कमा रहेका डीएसपी दीपक खड्कासँग भने सोधपुछसम्म गरेको थिएन ।

हाल फरार प्रतिवादी रहेका जीवन चलाउनेले भारतीय नम्बरको ह्वाट्सएपबाट रातोपाटीलाई गरेको सम्पर्कमा उनले यी सबै प्रहरी अधिकृतसँग कुराकानी भएको स्वीकार गर्दै धेरैजसो सम्पर्क ह्वाट्सएपमै हुने गरेको बताएका छन् । 

उनले भने, ‘हो, मेरो कुराकानी हुने गरेको हो । अझ अधिकांश सम्पर्क त ह्वाट्सएपबाट नै हुने गरेको हो । तर यो सबै कुराकानी म गलत भएर गरेको होइन । मैले सूचना दिन पनि फोन गरेको छु, केहीसँग आर्थिक कारोबार पनि छ । कोही आफन्त छन् भने कोही गाउँकै दाजुभाइ पनि छन् । तर म अहिले पनि भन्छु, सुन तस्करीमा मेरो कुनै संलग्नता छैन । दावासँग अन्य विषयमा कुराकानी भएको हो, सुन तस्करीमा मेरो कुनै संलग्नता रहेको होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप