शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

शुक्रबार, १६ चैत २०८०, १८ : ३७
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएका छन् । शुक्रबार ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा जलवायु परिवर्तनको असर पानीमा धेरै परेकाले बताएका हुन् । 

पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । ‘जलवायु परिवर्तनको प्रभाव गुणात्मक ढङ्गले बढ्दै गएको छ, जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव पानीमा नै पर्ने देखिन्छ,’ उनले भने, ‘हामी हिमालहरू पग्ली रहेको कुरा गरिरहेका छौँ, यो सबैको मुख्य प्रभाव पानीमा नै देखिएको छ, हाम्रा पानीको व्यवस्थापनको प्रश्न निकै महत्त्वपूर्ण र चुनौतीपूर्ण पनि बन्दै गइरहेको छ । यसको संरक्षण, उपयोग गर्नुपर्ने छ ।’

नेपालबाट हरितगृह ग्यासको उत्सर्जन नगण्य भए तापनि जलवायु परिवर्तनको असर र यसबाट सिर्जित जोखिम चुनौतीपूर्ण छ । साधारणतया चैतदेखि जेठ महिनाबिच नदीमा पानीको बहाव न्यून हुने गरेकोले जलविद्युत उत्पादनको क्षमताभन्दा आधा वा एक–तिहाईमात्रै जलविद्युत उत्पादन हुने गरेको पाइन्छ । 

अझै खानेपानी, सिँचाइ लगायत पानीको उपयोग गर्ने अन्य क्षेत्रका लागि पानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । 

जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता बमोजिम तापक्रमको वृद्धि १.५ डिग्री सेल्सियसमा कायम भए तापनि २१ औँ शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लने प्रक्षेपण गरिएको छ । यो भयावह स्थिति भएको जलविज्ञ डा. कपिल ज्ञवालीले बताए । उनका अनुसार सामान्यतया, तापक्रममा वृद्धि हुँदा २१ औँ शताब्दीको मध्यतिर हिउँ पग्लेर नदी, खोलामा पानीको बहाव बढ्ने र शताब्दीको अन्त्यसम्म पानीको उपलब्धता घट्ने प्रक्षेपण गरिएको उल्लेख गरे । 

सरकारले जलवायु उत्थानशील, समावेशी जलस्रोत र वास सेवाको विकासलाई प्रवर्द्धन, जलवायु सङ्कटासन्नता र जोखिमको सम्बोधन, जलस्रोतलाई वातावरणमैत्री र जलवायु उत्थानशील बनाउन हेतु विभिन्न २९ वटा कार्यक्रमहरू समेटेर २२ वटा रणनीतिहरूसहित बिहीबार जलस्रोत व्यवस्थापनका लागि प्रतिकार्य रणनीति सार्वजनिक गरेको हो ।

जलस्रोतको विकास र व्यवस्थापनका लागि समन्वय संयन्त्रसहित तीन तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै लग्ने, जलवायु उत्थानशील र जलस्रोतको दिगो उपयोग तथा वास सेवाको लागि एकीकृत जलस्रोत व्यवस्थापन र बेसिन अवधारणालाई आधारभूत योजनाका रूपमा अवलम्बन गर्ने सो रणनीतिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप