बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको औद्योगिक उत्पादनमा वृद्धि

आइतबार, १८ चैत २०८०, १६ : १७
आइतबार, १८ चैत २०८०

बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । 

विश्वकै दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरुले बताएका छन् ।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचकाङ्क मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार यो सूचकाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो ।

पिएआई सूचकाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो । यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र देखिएको थियो । 

ब्लूमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पादन वृद्धि हुने देखाएको थियो ।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर सङ्कट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाब समेतका समस्या देखिएका थिए ।

अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो ।

बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्त्वाकाङ्क्षी भन्दै चीनको आलोचना गरेका थिए ।

चिनियाँ अधिकारीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरू घोषणा गरेका थिए जसबाट मिश्रित परिणामहरू हासिल भएका थिए ।

तर एउटा सकारात्मक पाटोका रूपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो । 

चीनको गैर–औद्योगिक उत्पादनको पिएमआई सूचकाङ्क भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो । 

गत वर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था रहेको थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले शृङ्खलाबद्ध रूपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो ।

आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कूल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो । तर यस वृद्धिलाई अर्थशास्त्रीहरूले चीनले बढाइचढाइ गरेको दाबी गरेका थिए । चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरूपछि सबैभन्दा कमजोर थियो । -(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप