शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मानव तस्करलाई अनुकूल हुने गरी रुसमा श्रम स्वीकृति दिइयो : सांसद पौडेल

सोमबार, १९ चैत २०८०, १३ : २१
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएकोमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति दिइएको आरोप लगाए ।

‘यतिबेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ?,’ उनको प्रश्न छ, ‘मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।’ यस्तै उनले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताए । रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको उनको भनाइ छ ।

‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ,’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’
पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुसँग रुसी सेनामा ७ सय भन्दा बढी नेपाली रहेको तथ्यांक रहेको सुनाए । 

‘कम्तीमा पनि ७०० नेपाली छन्, ४० जना मरेका छन् । लास आउन नसकेर कुसको प्रतीक बनाएर किरिया गरिएको छ । ११७ घाइते छन् । ३०० बेपत्ता छन् । थुप्रै देश फर्किन फाराम भरेर बसेका छन्,’ उनले भने, ‘सरकार उद्धार गर्न परै जाओस्, यकिन तथ्यांक पत्ता लगाउन कोसिस छैन । युक्रेनमा पनि बन्दी बनेको सार्वजनिक गरिएको छ । नेपालको परराष्ट्र मन्त्रालय र यसको संयन्त्रले के गरेको छ ?,’

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको पौडेलको आरोप छ । पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको उनले बताए । रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदा समेत अपराधीलाई जस्तो व्यवहार गरेको उनको दाबी छ ।
 ‘एउटा अपराधीलाई बोलाएको जसरी काठमाडौँ बोलाउँछ, दशौं ठाउँमा जानुपर्छ,’ यसले पीडित झन् पीडित भएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप