मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

हामीले यो अवस्था आओस् भन्ने चाहेका होइनौँ : उपनेता चित्रकार

सोमबार, १९ चैत २०८०, १७ : ०९
सोमबार, १९ चैत २०८०

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा बोल्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने बताए ।

 ‘यो सरकारलाई कांग्रेसले विश्वासको मत दिने अवस्था छैन । हामी प्रमुख प्रतिपक्षको रूपमा संसद्‌मा रहेछौँ ।  मुख्यमन्त्रीज्यूले पेस गर्नुभएको विश्वासको मतको नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने कुरा जानकारी गराउँछु ,’ उनले भने । कांग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक ढंगले सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने चित्रकारले बताए । 

यस्तै उनले नेपालको राजनीति छिटो छिटो दौडिरहेको भन्दै गत निर्वाचनमा मतदातालाई गरेका बाचा विपरीत राजनीतिक घटनाक्रम विकसित भएको बताए । 

निर्वाचनको १६ महिनाको बिचमा तीन—तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आफूहरूले नचाहेको उनले बताए । ‘हामीले यो अवस्था  आओस्  भन्ने चाहेका होइनौँ । प्रदेश सरकारलाई राम्रोसँग परिचालन गरेर जनताको सेवकका रूपमा रूपान्तरण गर्न सकिरहेका छैनौँ । समीकरण परिवर्तन हुँदा जनता उत्साहित देखिएका छैनन् । जनता निराश हुने अवस्था सिर्जना भइरहेको छ,’ उनले भने । 

गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप