सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १९ चैत २०८०, २१ : ५९
सोमबार, १९ चैत २०८०

काठमाडौँ ।आज २०८० चैत १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा बागमतीका मुख्यमन्त्रीले १६ महिनामा लिए तेस्रो पटक विश्वासको मत, नागरिक उन्मुक्ति पार्टीको बैठकमै लफडा, विभिन्न मन्त्रालयका सचिव हेरफेर, कर्णालीको नेतृत्व एमालेको भागमा, विवादित बन्दै प्रहरीको बढुवा, उम्मेदवार छान्नुअघि देउवाले लिए ‘ग्राउन्ड रिपोर्ट’ लगायत छन् ।

१. बागमतीका मुख्यमन्त्रीले १६ महिनामा लिए तेस्रो पटक विश्वासको मत
१६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभाबाट यही कार्यकालमा उनले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।


२. नागरिक उन्मुक्ति पार्टीको बैठकमै लफडा
सरकारको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सोमबार राजधानीमा बोलाएको बैठकमा तनावको अवस्था निम्तिएको छ । बैठकमा हात हालाहालसमेत भएको बताइएको छ ।

३. विभिन्न मन्त्रालयका सचिव हेरफेर
सरकारले लामो समयपछि सचिवहरूको व्यापक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

४. कर्णालीको नेतृत्व एमालेको भागमा
कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले रातोपाटीलाई बताए ।

५. विवादित बन्दै प्रहरीको बढुवा 
नेपाल प्रहरीमा जनपद समूहतर्फ चैत १४ मा ८ जना डीएसपीहरू एसपीमा बढुवा सिफारिस भए । तीमध्ये ३ जना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ छन् । तर, बढुवा सूचीको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीचाहिँ बढुवा हुनबाट वञ्चित भएका छन् ।

६. उम्मेदवार छान्नुअघि देउवाले लिए ‘ग्राउन्ड रिपोर्ट’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनका सन्दर्भमा ग्राउण्ड रिपोर्ट लिएका छन् । उम्मेदवार छान्नुअघि उनले आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपराह्न उपनिर्वाचनका सन्दर्भमा ग्राउण्ड रिपोर्ट लिएका हुन् ।

७. पर्सा निकुञ्जको खोरमा रहेका तीन वटा बाघ कसरी मरे ?
चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । योसँगै निकुञ्जमाथि समेत प्रश्न उठेको छ ।

८. सहकारीमा छुट्टै नियामक निकाय कति आवश्यक ?
यतिबेला सहकारी नियमनका लागि छुट्टै नियामक निकाय गठनको बहस चुलिएको छ । सहकारी ऐन, २०७४ अनुसार सङ्घीय सरकार, प्रदेश र स्थानीय तह तीन वटै तहको सरकारको क्षेत्राधिकारभित्र पर्ने सहकारी दर्ता, नियमन तथा अनुगमनबारे छुट्टै निकायले हेर्नुपर्ने बहस चुलिएको हो । 

९. जलविद्युतमा विदेशी लगानी : के छ अहिलेसम्मको अवस्था ?
सरकार यतिबेला तेस्रो लगानी सम्मेलनको अन्तिम तयारीमा छ । सरकारका गतिविधि हेर्दा सो सम्मेलनमा सबैभन्दा धेरै प्राथमिकता जलविद्युत क्षेत्रले पाउँदैछ । नेपालको जलविद्युत क्षेत्रमा पर्याप्त मात्रामा विदेशी लगानीकर्ता आकर्षित गर्नका लागि कानुनी सहजता, करको सुविधा र नाफा फिर्ता लैजानका निमित्त सहज स्थिति हुनुपर्छ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले नाफा वा लगानी फिर्ताका लागि कुनै पनि नीतिगत झन्झट नरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंह बताउँछन् ।

१०. एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
पछिल्लो महिना पर्यटक आगमनमा निकै उत्साह देखिएको छ । अध्यागमन विभागका अनुसार मार्च, २०२४ मा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप