मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमतीमा माओवादीको नेतृत्व निरन्तर

१६ महिनाको अवधिमा मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

तेस्रो पटक विश्वासको मत पाउँदा पक्षमा ५६ मत
सोमबार, १९ चैत २०८०, १८ : २३
सोमबार, १९ चैत २०८०

हेटौँडा । १६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् । 

तर, तेस्रो पटक विश्वासको मत पाएपनि उनले प्राप्त गरेको मत भने ओरालो यात्रामा रहेको तथ्यांकले देखाएको छ । 
सोमबार प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्यो भने विपक्षमा जम्मा ३७ मत पर्यो । यस्तै १५ सांसद तटस्थ बसे । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे । 

सोमबारको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा  ५६ सांसदले मतको मत पाएका हुन् । 

 ११० सदस्यीय प्रदेशसभामा  सरकार टिकाउन आवश्यक कुल ५६ सांसदको विश्वासको मत पाउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार जम्कट्टेलको पक्षमा नेकपा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ सांसदले मत दिएका हुन् । राप्रपाका १३ सांसद र नेमकीपाका ३ सांसदले तथस्ट बसे । यस्तै कांग्रेसका ३७  सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत प्रदान गरे । 

 मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । तत्कालिन समयमा उनले एमाले माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट विश्वासको मत पाएका थिए । सो समयमा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेससमेत गरी १०५ सांसदको विश्वासको मत पाएका थिए । त्यतिबेला उपस्थितमध्ये नेमकिपाले मात्रै उनलाई मत नदिएको थियो । 

मुख्यमन्त्री जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए । प्रदेशसभाको सो बैठकबाट उनको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका थिए । उनलाई त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहित हाम्रो नेपाली पार्टीबाट विश्वासको मत प्राप्त भएको थियो । 
उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका थिए भने ७ जना सांसदहरु तथस्ट बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप