बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

एमालेको भागमा कर्णालीको नेतृत्व, माओवादीमा सर्कुलर

सोमबार, १९ चैत २०८०, २० : ०१
सोमबार, १९ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले रातोपाटीलाई बताए । 

‘निर्णय भएर सर्कुलर  पनि आइसकेको छ,’उनले भने, ‘निर्णय मान्नै पर्ने हुन्छ ।’  मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।

मुख्यमन्त्री शर्माले मङ्गलवार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । तर, केन्द्रमा फरक सहमति भएपछि अब के हुने भन्नेबारे पनि अन्योलता कायमै छ । 

माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आएपनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । तर  यो सहमतिले माओवादीभित्र असन्तुष्टि भने बढ्नसक्ने नेताहरु बताउँछन् । 

सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् भने लुम्बिनीमा हाल कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस नेतृत्वको सरकार ढलेपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ । 

यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ।  मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप