बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पर्सा निकुञ्जको लापरबाहीले खोरमा भएका ३ वटै बाघको मृत्यु

सोमबार, १९ चैत २०८०, ०५ : ४८
सोमबार, १९ चैत २०८०

बारा । चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

केही दिनदेखि बिरामी भएको बाघलाई खोरमा आहारा दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जनाए । वयस्क भाले बाघको मृत्युसँगै अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोर रित्तो भएको छ ।

parsa tiger cage (2)

पर्साको ठोरी र चितवनबाट उद्धार गरी ल्याएका एउटा पोथी र २ वटा भाले बाघको मृत्युसँगै निकुञ्जको खोर रित्तो भएको हो । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । २ वटा बाघ राख्ने क्षमता भएको साँघुरो खोरमा निकुञ्जले ३ वटा बाघलाई राख्दै आएको थियो ।

अत्यन्तै दुर्गन्धित र साँघुरो खोरमा राखिएको बाघलाई बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको हो । निकुञ्जले बाघको उमेर हेरेर एकदिन बिराएर ५ किलो मासु दिँदै आएको थियो । तर खोरमा बाघले नखाएको मासु कुहिएर गन्हाउँदा छेउछाउमै जान नसक्ने अवस्था थियो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको जनाए । ‘खोर भनेको बाघलाई उद्धार गरेर १/२ महिनाका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो, लामो समय खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘खोरमा बाघको लागि वातावरण राम्रो नभएका कारणले नै मरेका हुन्, धेरै समय राखिएको थियो । त्यो नै गल्ती भयो ।’

parsa tiger cage (6)

पछिल्लो केही महिनामा बारा, पर्सामा एक दर्जन बाघको प्राकृतिक तथा मानवीय कारणले मृत्यु भएको छ । चैत ६ गते बाराको तामागढी साझेदारी वनमा तस्करले गोली हानेर मारेको अवस्थामा करिब ३ वर्षको पोथी बाघ मृत भेटिएको थियो । सो बाघको पुच्छर काटिएको, दाँत, जुँगा र आँखा समेत निकालिएको थियो ।

त्यसैगरी फागुन २४ गते बाराको कछडिया सामुदायिक वनमा अर्को एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । सो बाघलाई पशु चौपाया खाएको प्रतिशोधमा विषाक्त मासु दिएर मारिएको आशङ्का गरिएको छ । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएका कारण स्थानीयहरूले मासुमा विष हालेर छोडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

गत फागुनमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ र २ मा चार दिनको अन्तरालमा २ वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को गणनामा ४१ वटा दुर्लभ पाटे बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा त्यस यता एक दर्जन बाघको ज्यान गइसकेको छ ।  

parsa tiger cage (5)

पर्सा निकुञ्जमा सन् २०१८ को गणनामा १८ बाट एकैपटक उत्साहजनक ढङ्गले वृद्धि भएर ४१ वटा पुगेको बाघ पछिल्लो समय वासस्थान, आहारा र पानीको अभावमा वनक्षेत्र आसपासका बस्तीमा छिर्न थालेको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पछिल्लो समय बाघको वासस्थान क्षेत्र अतिक्रमण हुँदा बस्तीमा छिर्न थालेको बताए । परिणामस्वरुप बाघ र मानिसबिच द्वन्द्व बढेको उनको भनाइ छ ।

‘अहिले मानव र बाघबिच धेरै द्वन्द्व बढेको छ, यसको कारण भनेको वासस्थान साँघुरिँदै जाँदा बाघले खेल्ने, दौडने, सिकार गर्ने ठाउँ भएन । अहिले सुक्खा मौसमका कारण पानी खोज्न जाँदा मानिससँग बाघको द्वन्द्व बढेको हो,’ डिभिजन वन अधिकृत सिंहले भने, ‘बाघलाई यो राष्ट्रिय निकुञ्ज हो, यो राष्ट्रिय वन क्षेत्र हो भन्ने थाहा हुँदैन । बाघ प्रकृति हो, तर मानिसले अहिले बाघलाई हिँडडुल गर्न पनि दिइरहेका छैनन् ।’

उनले लामो समय बाघलाई खोरमा राख्न नहुने प्रस्ट पार्दै उपचारपछि जङ्गलमै छोड्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप