पर्सा निकुञ्जको लापरबाहीले खोरमा भएका ३ वटै बाघको मृत्यु
बारा । चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
केही दिनदेखि बिरामी भएको बाघलाई खोरमा आहारा दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जनाए । वयस्क भाले बाघको मृत्युसँगै अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोर रित्तो भएको छ ।
_sDgA2unPXO.jpg)
पर्साको ठोरी र चितवनबाट उद्धार गरी ल्याएका एउटा पोथी र २ वटा भाले बाघको मृत्युसँगै निकुञ्जको खोर रित्तो भएको हो । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । २ वटा बाघ राख्ने क्षमता भएको साँघुरो खोरमा निकुञ्जले ३ वटा बाघलाई राख्दै आएको थियो ।
अत्यन्तै दुर्गन्धित र साँघुरो खोरमा राखिएको बाघलाई बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको हो । निकुञ्जले बाघको उमेर हेरेर एकदिन बिराएर ५ किलो मासु दिँदै आएको थियो । तर खोरमा बाघले नखाएको मासु कुहिएर गन्हाउँदा छेउछाउमै जान नसक्ने अवस्था थियो ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको जनाए । ‘खोर भनेको बाघलाई उद्धार गरेर १/२ महिनाका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो, लामो समय खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘खोरमा बाघको लागि वातावरण राम्रो नभएका कारणले नै मरेका हुन्, धेरै समय राखिएको थियो । त्यो नै गल्ती भयो ।’
_u4fVJgHDa4.jpg)
पछिल्लो केही महिनामा बारा, पर्सामा एक दर्जन बाघको प्राकृतिक तथा मानवीय कारणले मृत्यु भएको छ । चैत ६ गते बाराको तामागढी साझेदारी वनमा तस्करले गोली हानेर मारेको अवस्थामा करिब ३ वर्षको पोथी बाघ मृत भेटिएको थियो । सो बाघको पुच्छर काटिएको, दाँत, जुँगा र आँखा समेत निकालिएको थियो ।
त्यसैगरी फागुन २४ गते बाराको कछडिया सामुदायिक वनमा अर्को एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । सो बाघलाई पशु चौपाया खाएको प्रतिशोधमा विषाक्त मासु दिएर मारिएको आशङ्का गरिएको छ । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएका कारण स्थानीयहरूले मासुमा विष हालेर छोडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
गत फागुनमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ र २ मा चार दिनको अन्तरालमा २ वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को गणनामा ४१ वटा दुर्लभ पाटे बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा त्यस यता एक दर्जन बाघको ज्यान गइसकेको छ ।
_78DKXW7cIZ.jpg)
पर्सा निकुञ्जमा सन् २०१८ को गणनामा १८ बाट एकैपटक उत्साहजनक ढङ्गले वृद्धि भएर ४१ वटा पुगेको बाघ पछिल्लो समय वासस्थान, आहारा र पानीको अभावमा वनक्षेत्र आसपासका बस्तीमा छिर्न थालेको छ ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पछिल्लो समय बाघको वासस्थान क्षेत्र अतिक्रमण हुँदा बस्तीमा छिर्न थालेको बताए । परिणामस्वरुप बाघ र मानिसबिच द्वन्द्व बढेको उनको भनाइ छ ।
‘अहिले मानव र बाघबिच धेरै द्वन्द्व बढेको छ, यसको कारण भनेको वासस्थान साँघुरिँदै जाँदा बाघले खेल्ने, दौडने, सिकार गर्ने ठाउँ भएन । अहिले सुक्खा मौसमका कारण पानी खोज्न जाँदा मानिससँग बाघको द्वन्द्व बढेको हो,’ डिभिजन वन अधिकृत सिंहले भने, ‘बाघलाई यो राष्ट्रिय निकुञ्ज हो, यो राष्ट्रिय वन क्षेत्र हो भन्ने थाहा हुँदैन । बाघ प्रकृति हो, तर मानिसले अहिले बाघलाई हिँडडुल गर्न पनि दिइरहेका छैनन् ।’
उनले लामो समय बाघलाई खोरमा राख्न नहुने प्रस्ट पार्दै उपचारपछि जङ्गलमै छोड्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण