बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

कारबाही सिफारिस भएका डीएसपीले दिए गृहमन्त्री समक्ष निवेदन

शुक्रबार, २३ चैत २०८०, १२ : ०८
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अन्यायपूर्ण तरिकाले कारबाहीको सिफारिस गरेको भन्दै प्रहरीका एक जना डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले आफूमाथि गलत तरिकाले कारबाहीको सिफारिस गरेको आरोप लगाएर डीएसपी रुगम कुँवरले निवेदन दिएका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको निवेदनको बोधार्थ गृहसचिव र आईजीपीलाई पनि दिइएको छ । ब्रेकप्याड मार्फत तस्करी गरिएको ६० केजी सुनका प्रतिवादी जीवन चलाउनेको बारेमा आफूले नपठाएको कृत्रिम म्यासेजलाई आधार मानेर आयोगले आफूविरुद्ध अन्यायपूर्ण सिफारिस गरेको उनको दाबी छ ।

निवेदनमा भनिएको छ– ‘मैले पठाउँदै नपठाएको र  कृत्रिम रूपमा तयार गरेको सूचनाको स्रोतको आधिकारिकता के हो ?’ चलाउनेसँग अत्यधिक फोन संवाद देखिएको भनेर आयोगको प्रतिवादेमा उल्लेख भएकोमा कुँवरले आपत्ति जनाएका छन् । गृह मन्त्रालयका एक जना अधिकृतका अनुसार कुँवरले निवेदनमा लेखका छन्– ‘मेरो कल डिटेल्स निकालेर कति वर्षमा कतिपटक कुराकानी भएको थियो भन्नेबारे प्रमाण परीक्षण गरिनुपर्छ ।’

एउटै जिल्ला र चिनजानको नाताले चलाउनेसँग आफ्नो पारिवारिक नाता सम्बन्ध भए पनि उसले सुन तस्करी गर्नेबारे आफू अनविज्ञ रहेको कुँवरले उल्लेख गरेका छन् । निवेदनमा भनिएको छ– ‘चलाउनेले सुनको काम गर्छन् भन्नेबारे मलाई थाहा थिएन ।’

आफूले नलेखेको म्यासेज एक जना पत्रकारले आयोगका अध्यक्ष डिल्ली आचार्यलाई दिएको र सो आधारमा कारबाही सिफारिस भएको भन्दै कुँवरले सो म्यासेजको आधिकारिकता परीक्षण गर्न माग गरेका छन् । कुँवरले त्यसलाई ‘बनावटी म्यासेज’ भनेका छन् ।

६० किलो सुन प्रकरणमा अनुसन्धान गर्ने ४२ जनाको टिममा आफू नरहेको उल्लेख गर्दै कुँवरले भनेका छन्– ‘मैले अनुसन्धानलाई प्रभावित बनाएको भन्ने कुनै पनि तथ्ययुक्त प्रमाण रहेको छैन ।’ प्रहरी अतिरिक्त महानिरीक्षकले कमान्ड गर्ने सीआईबीमा डीएसपीले चाहेर मुद्दामा प्रभावित पार्न नसक्ने उल्लेख गर्दै कुँवरले भनेका छन्–‘सुनको अनुसन्धान गर्ने टिमलाई सहयोग गरेको थिएँ तर, अन्यायपूर्ण कारबाही सिफारिसबाट मर्माहत भएको छु ।’

जीवन चलाउनेसँग सीआईबीको कार्यालयमा भेटघाट नगरेको जिकिर गर्दै कुँवरले प्रतिवेदनले किटान गरेका तथ्यहरूको जाँच गर्न माग गरेका छन् । निवेदनमा भनिएको छ– ‘तथ्य जाँच गर्दा दोषी देखिए कारबाही भोग्न तयार छु ।’

चैत १ मा आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले सीआईबीकी तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको थियो । सो सिफारिसबारे गृह मन्त्रालयका सहसचिव भरतमणि नेतृत्वको समितिले अध्ययन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप