सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जंगलमा लागेको आगो वस्तीमा पस्यो, तीन वटा घर जलेर नष्ट

मङ्गलबार, २७ चैत २०८०, १७ : २२
मङ्गलबार, २७ चैत २०८०

पोखरा । बागलुङको ताराखोलामा जंगलमा लागेको आगो बस्तीमा पसेको छ । ४ दिन अगाडीदेखि वडा नम्बर १ र २ को सीमानामा रहेको जंगलमा लागेको आगो गुराँसे बस्तीमा पसेको हो ।

 उक्त आगोले ३ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको स्थानीयले बताएका छन् । वडा नम्बर २ का अध्यक्ष भद्रबहादुर घर्तीका अनुसार बस्तीतिर आउन नदिन प्रयास गरेपनि एकाएक घर र गोठमा सल्किएको हो ।
‘बस्तीमा आउन नदिन स्थानीय खटिएका थियौं । आज खाना खाने समयमा बस्तीतिर छिरेछ,’ उनले भने, ‘नजिकका घरगोठ जलेर नष्ट भयो । मान्छेमा कुनै क्षति छैन ।’ 

नर बहादुर परियारको खरको घर गोठ, हरिलाल परियारको खरको घर गोठसँगै अमृत परियारको २ वटा गोठ, ईश्वरा परियारको ढुंगाको  घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलोबाट जलेको उनको भनाइ छ । 

उनीहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन् । डढेलोले बाख्रा र भैंसी पनि जलेका छन् । डढेलो नियन्त्रणमा नआएका कारण जोखिम कायम रहेको उनले बताए । 
अहिले स्थानीयले अग्नी रेखा बनाएर बस्तीतिर थप आगो आउन नदिनका लागि प्रयास जारी राखेका छन् । 


यस्तै, नजिकै रहेको चिया वगान समेत जोखिममा परेको वडाध्यक्ष घर्तीले जानकारी दिए । यसैबीच गलकोट क्षेत्रका पनि ६ वटा सामुदायिक वनमा अहिले आगलागी भैरहेको र ३० भन्दा बढी बस्ती जोखिममा रहेका नगरपालिकाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप