मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘हलवालाले नेपाली फिल्मलाई माया गर्दैनन् भन्नु गलत हो’

विदेशीभन्दा नेपाली फिल्म चलाउँदा फाइदा धेरै छ : नरेन्द्र महर्जन
बिहीबार, २९ चैत २०८०, १० : २८
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नरेन्द्र महर्जन हलवालाहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका नव निर्वाचित अध्यक्ष हुन् । केही दिन अगाडि आयोजित सङ्घको ४९औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा विजयी भएका हुन् ।

निर्माता, वितरकसमेत रहेका महर्जन सङ्घको अध्यक्ष चुनिँदै गर्दा प्रदर्शकको अलावा निर्माता र कलाकारमा समेत खुसी छाएको छ । उनको कार्यकालमा निर्माता र हलबिचको मतभेद अन्त्य हुने विश्वास धेरैले लिएका छन् ।

हलवालालाई सधैँ विदेशी फिल्मलाई काखा र नेपालीलाई पाखा गरेको आरोप लाग्दै आएको छ । उनी भने हलले सधैँ नेपाली फिल्मलाई माया गर्ने बताउँछन् । विदेशीभन्दा स्वदेशी फिल्म चलाउँदा हललाई बढी फाइदा हुने उनको धारणा छ ।

नेपाली चलचित्र क्षेत्रका विविध विषयमा केन्द्रित रहेर अध्यक्ष महर्जनसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • चलचित्र सङ्घको अध्यक्ष निर्वाचित हुनु भएको छ, तपाईंंले आफ्ना सामु के चुनौती देख्नु भएको छ ?

चुनौती थुप्रै छन् । पहिलो त राज्यसँग ट्याक्सको विषयमा गर्ने लडाइँ छ । चलचित्र उद्योगमा अव्यवहारिक कर धेरै छ । त्यसका लागि अहिले अर्थ मन्त्रालय लगायत विभिन्न निकाय धाइरहेका छौँ । अव्यवहारिक करको कारण हलको सङ्ख्या ४५० बाट घटेर १५० मा झरेको छ ।

अहिले निर्माता र हलबिचको द्वन्द्व लगभग सकिएको अवस्था हो । हामीहरू बिच धेरै सहमति भए पनि केही असहमतिका बुँदा छन् ।

दोस्रो, निर्मातासँगको विषय हो । उहाँहरूसँग एक किसिमले सहमति भएको छ । केही कुरो अझै टुङ्ग्याउन बाँकी छ । त्यो पनि मिल्छ । १२ वर्षपछि चुनावमार्फत सङ्घको नेतृत्व चयन भएको छ । रुष्ट साथीहरूलाई मिलाएर सँगै अगाडि बढ्नु पर्नेछ ।

यस पटकको कार्यसमितिमा युवाहरूको उपस्थिति बाक्लो छ । उहाँहरूको जोसलाई नयाँ भिजनबाट अगाडि बढाउँदै सङ्घलाई समेत अगाडि लैजानु छ ।

  • निर्माता र हलबिच सधैँ द्वन्द्व छ । त्यसलाई व्यवस्थित गर्न केही सोच्नु भएको छ कि ?

अहिले निर्माता र हलबिचको द्वन्द्व लगभग सकिएको अवस्था हो । हामीहरू बिच धेरै सहमति भए पनि केही असहमतिका बुँदा छन् । त्यसका लागि कार्यदल बनाएर बृहत् छलफल हुन्छ ।

केही अगाडि सेयर बाँडफाँटमा बराबर गर्ने भनेपछि करिब नब्बे प्रतिशत समस्या समाधान भयो भन्ने लाग्छ । बाँकी छ भने त्यो पनि मिल्छ । निर्माता र प्रदर्शक नङ र मासुको सम्बन्धका साथ अगाडि बढ्ने हो ।

फिल्म हल रहे निर्माता रहने हो र निर्माता रहे फिल्म हल रहन्छ भन्ने भावनाले अगाडि बढ्नुपर्छ ।

  • तपाईंं निर्माता पनि हो । त्यसैले निर्माताप्रति अन्याय हुँदैन भनेर भन्न सकिन्छ ?

सबैको समस्या बुझ्ने व्यक्ति भएकाले नै मलाई साथीहरूले नेतृत्वमा चयन गर्नु भएको हो । म निर्माण, प्रदर्शन र वितरण ३ विधामै बराबर सहभागी छु । मैले तीनै विधाका समस्या र पिर बुझेको छु । कसैप्रति अन्याय नहुने गरेर काम गर्छु ।

निर्माताहरू इगो लगायत विभिन्न कारणले एकअर्काेसँग फिल्म जुधाउँछन् । शो भएन भनेर हामीलाई गाली किन ?
  • प्रदर्शनको तयारी रहेको फिल्मलाई ‘शो’को हिसाबले भेदभाव गर्ने गरेको देखियो । कुन फिल्म चल्छ, कुन चल्दैन भन्ने अनुमान कसरी गर्न सकिन्छ र ?

हो, यही कुरोमा हाम्रो जहिले पनि विमति हो । हाम्रो भनाइ के हो भने फिल्म कुन कसरी रिलिज गर्ने भनेर निर्माण सङ्घले मिलाए भइगो नि ! एउटा तालिका बनाएर ल्याउँदा हामी तयार छौँ । हामीसँग हलको सङ्ख्या कम भएको अवस्थामा एकै समय धेरै फिल्म आउँदा शो ब्यालेन्समा हामीलाई समस्या परेको हो ।

अहिलेको कुरा गर्ने हो भने फिल्म ‘महाजात्रा’को राम्रो व्यवसाय छ । अब दुईवटा फिल्म फेरि लाग्दैछ । उनीहरूलाई शो कसरी दिने भन्ने कठिन अवस्था हो । दुईमध्ये एउटा अन्तर्राष्ट्रिय रेकर्ड बनाएको र अर्को राम्रो फिल्म दिएको निर्देशकको फिल्म हो । हामी कुन फिल्म चल्छ, कुन चल्दैन भन्नै सक्दैनौँ । हामी दर्शकमुखी हौँ ।

निर्माताहरू इगो लगायत विभिन्न कारणले एकअर्काेसँग फिल्म जुधाउँछन् । शो भएन भनेर हामीलाई गाली किन ? आफू मिल्न नसक्ने अनि अरुले मिलाएन भन्न मिल्दैन । एउटै मितिमा फिल्म जुधाउने हामी हो र ?

  • हलमा ट्रेलर देखाउँदा पैसा लाग्छ । यो निर्माताप्रति अन्याय होइन र ?

यो गलत कुरो हो । हामीले फिल्म रिलिजको दुई साता अगाडिबाट ट्रेलरको पैसा लिँदैनौँ भनेको हो । निर्माताहरू कसैलाई ४ हप्ता, कसैलाई ६ हप्ता बजाउनु पर्‍यो भन्छन् । त्यो गर्न पैसा लाग्छ ।

हामी इ–टिकेटिङमा छौँ । बक्सअफिस फलो गरिरहेका छौँ । बक्सअफिसमा भन्दा धेरै व्यवसाय हाम्रोमा देखाउँछ ।

हामीले सधै फ्रि गरिदियो भने निर्मातालाई ३/४ महिना बजाउनुपर्छ । दर्शक हलमा ट्रेलर धेरै बज्छ भनेर क्रुद्ध भएका छन् । दुई हप्ताका लागि पैसा लिँदैनौ । एक महिना चलाउने हो भने बाँकी दुई साताको पैसा तिर्नुपर्छ ।

  • हललाई टिकट चोरेको आरोप किन लाग्छ सधैँ । यो निराकरण गर्न जरुरी छैन ?

यो गलत कुरो हो । हामी इ–टिकेटिङमा छौँ । बक्सअफिस फलो गरिरहेका छौँ । बक्सअफिसमा भन्दा धेरै व्यवसाय हाम्रोमा देखाउँछ । चोरी हुने भए बक्सअफिस भन्दा हाम्रो सेल्स कम हुनुपर्ने हो । ९९ प्रतिशत यो कुरो गलत हो । म ग्यारेन्टी गर्छु ।

सङ्घका क्युएफएक्सको दादागिरी देखिन्छ भन्छन्, हो र  ?

यस विषयमा मलाई जानकारी छैन । बाहिर सुनेको कुरोमा संस्थागत हुँदैन । कोही पक्षले अन्यायमा छ भने सङ्घमा आएर उजुरी गर्नुपर्‍यो ।

त्यसको निराकरण सङ्घले गर्छ । मानिस बिरामी भयो हल्ला गर्ने कि, डाक्टर भएको ठाउँमा पुग्ने ? डाक्टर भएको ठाउँमा पुगेपछि मात्र बिरामीको उपचार हुने हो ।

  • हलको सङ्ख्या घट्दो रहेको तथ्याङ्कले देखाउँछ, बढाउने उपाय छैन ?

त्यसका लागि राज्यले चासो लिनुपर्‍यो । अहिले बिजनेस हाउसले चलचित्र उद्योगमा लगानी गरेको छैन । त्यसको कारण उहाँहरूले रेभेन्यु नदेखेर हो ।

विज्ञापन भनेको हल चल्नका लागि हो । हल टिक्नका लागि पनि अहिले विज्ञापन चाहिन्छ ।

उदाहरणको रूपमा हामीले तीन सयको टिकट बेच्दा एक सय ट्याक्स, एक सय निर्माता र बाँकी एक सयले हामीले हल चल्नुपर्छ । थोरै टिकट बिक्री हुँदा हल चलाउन गाह्रो हुन्छ । त्यसैले पनि हामी हरेक पटक राम्रो फिल्म लागोस्, फिल्मले राम्रो व्यवसाय गरोस् भनिरहेको अवस्था हो ।

  • हलमा दर्शक घट्नुमा पार्किङ शुल्क, व्यावसायिक विज्ञापन समेत कारण हो भन्ने कुरो पनि छ नि ?

त्यो होइन । अहिले विभिन्न प्रविधि मानिसको हात हातमा छ । पहिले मनोरञ्जनका लागि फिल्म हलको विकल्प थिएन । अहिले धेरै छन् । राम्रो फिल्म आउँदा पार्किङ र टिकटको मूल्यसमेत हेरिँदैन । फिल्म राम्रो नआउनु समस्या हो ।

विज्ञापन भनेको हल चल्नका लागि हो । हल टिक्नका लागि पनि अहिले विज्ञापन चाहिन्छ । दर्शकले १२ बजे फिल्म भन्यो भने १२ः१० पुग्नुपर्छ भनेर बुझिसकेका छन् । विज्ञापन हेर्न मन नहुने १० मिनेटपछि पुग्दा हुन्छ । फिल्मको राम्रो कमाइ छैन । विज्ञापन पनि भएन भने हल कसरी बाँच्ने ?

  • हलले स्वदेशी फिल्म प्राथमिकतामा राखेन भन्छन् नि, हो र ?

त्यो शत प्रतिशत गलत हो । हामीले सधैँ नेपाली फिल्मलाई नै प्राथमिकता दिएका छौँ । किनभने नेपालमा अहिलेसम्म धेरै व्यवसाय गर्ने नेपाली फिल्म नै हो ।

अर्को कुरो, नेपाली फिल्म चल्दा हामीलाई साढे सात प्रतिशत ट्याक्स फाइदा हुन्छ । त्यस हिसाबले पनि हामीले प्राथमिकतामा नराख्ने भन्ने कुरै भएन । जुन कुरोमा फाइदा छ, त्यो प्राथमिकतामा राख्दैन भन्नु गलत प्रचार हो । त्यो हामीलाई नराम्रो देखाएर कसैले बिचमा खेलिरहेको छ । जुन चिजमा नाफा बढी छ, त्यो कसले बेच्न चाहँदैन र ?

  • राज्यको नीति भएन भन्ने कुरो पनि छ नि ?

हो । त्यसका लागि हामी चलचित्र क्षेत्रका ८ सङ्घसंस्था एक भएर अगाडि बढिरहेका छौँ । बृहत् छलफल गरिरहेका छौ । फिल्म क्षेत्रका लागि नीति नियम बन्नुपर्ने माग गरिरहेका छौँ ।

  • तपाईं अब फिल्म निर्माण नगर्ने ?

त्यसका लागि केही समय लाग्छ । किनभने भर्खर कीर्तिपुर, रञ्जना, सीके सिनेमाज तयार भयो । अझै केही हल खोल्ने इच्छा छ । त्यसपछि फिल्म निर्माण गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप