सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जब जोन्टी रोड्सले लखनउकै समर्थकको अपमान गरे ...

बिहीबार, २९ चैत २०८०, १२ : ०९
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण चलिरहेको छ । हालसम्म आईपीएलको २४ खेल खेलिसकिएको छ । केही खेलमा स्वभाविक नतिजा आएका छन् भने केही खेलमा अप्रत्याशित नतिजा पनि निस्किएका छन् ।

समर्थकहरू पनि मैदानमा हुने दुई टोलीबिचको भिडन्तमा रमाउन व्यस्त छन् । तर, आईपीएलजस्ता ठूला प्रतियोगितामा मैदानबाहिर हुने गतिविधि पनि उत्तिकै रमाइला हुन्छन् । मैदानबाहिर हुने यस्ता गतिविधिलाई पनि समर्थकले निकै चाख मानेर नियालिरहेका हुन्छन् ।

यस्तै एउटा प्रसङ्गमा आफ्नो समयका चर्चित दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स पनि जोडिन पुगेका छन् । जोन्टी रोड्सले आफ्नो सक्रिय खेलजीवनमा फिल्डिङ गर्ने शैलीले विश्वभर लाखौँ समर्थकको मन जितेका थिए ।

५४ वर्षीय जोन्टी रोड्स हाल आईपीएल क्लब लखनउ सुपर जाइन्ट्सका फिल्डिङ प्रशिक्षक हुन् । उनीमाथि आफ्नै क्लबका समर्थकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भइरहेको छ ।

उनीमाथि लखनउका एक समर्थकलाई ‘बेरोजगार’ भनेर अपमान गरेको आरोप लागेको छ । खासमा लखनउका एक समर्थकले सामाजिक सञ्जाल एक्स (यसअघि ट्वीटर) मा एउटा पोस्ट गरेका थिए । ती समर्थकले आफूले १० दिनअघि खेलाडीहरूले हस्ताक्षर गरेको लखनउको जर्सी मगाए पनि हालसम्म प्राप्त नभएको गुनासो गरेका थिए ।

समर्थकको उक्त पोस्ट जोन्टी रोड्सले पचाउन सकेनन् । त्यसपछि जोन्टी रोड्सले समर्थकको त्यो पोस्टमा कमेन्ट गर्दै लेखे, ‘भाई, तिम्रो आफ्नो कुनै जीवन छैन ? अरु कुनै काम पनि छैन कि कसो ? क्लबलाई समर्थन गरेकोमा धन्यवाद । तर, खै के भन्नु ।’

जोन्टी रोड्सको यस्तो कमेन्ट गरेपछि लखनउका धेरै समर्थक उनीसँग रुष्ट बनेका छन् । थुप्रै समर्थकले उनीविरुद्ध आक्रोश पनि पोखेका छन् । सामाजिक सञ्जालमा आफ्नो आलोचना बढ्दै गएपछि अन्ततः जोन्टी रोड्सले ती समर्थकसँग माफी मागेका छन् ।

जोन्टी रोड्सले माफी मागेपछि त्यसको जवाफमा जर्सीको माग गर्ने ती समर्थकले लेखेका छन्, ‘म तपाइँको ठूलो समर्थक हुँ । तपाइँलाई उत्तिकै सम्मान पनि गर्छु । तपाइँले मेरो पोस्टमा नमिठो टिप्पणी गर्दा निकै चित्त दुख्यो । तपाइँको टिप्पणीले अरु समर्थकको पनि मन दुखाएको छ । मेरो विचारमा तपाइँले ठट्यौली तरिकाले त्यस्तो टिप्पणी गर्नुभएको होला । यो घटनाका लागि म पनि तपाइँसँग माफी माग्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप