शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति रनिङ शिल्डको अनुगमन गर्ने जिम्मेवारी बोर्ड सदस्यलाई

आइतबार, ०२ वैशाख २०८१, १७ : ५२
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समावेश विभिन्न ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यहरूलाई प्रदान गरिएको छ ।

भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा विना श्रेष्ठ, कबड्डीमा पेमा डोल्मा लामा, कराँतेमा अञ्जना श्रेष्ठ, तेक्वान्दोमा अञ्जन धमला र उसुमा प्रकाशकुमार कुसारीलाई कार्य विवरणसहित अनुगमन गर्ने जिम्मेवारी दिइएको राखेपले आइतबार जनाएको छ ।

राष्ट्रपति रनिङ सिल्ड मंगलबार सुरु हुँदैछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा मार्च पास्ट, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोटर्स संघको प्रस्तुति तथा नाइटिङ्गल स्कुलका विद्यार्थीहरूको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने छ ।

यसैगरी उद्घाटन समारोहमा तृष्णा गुरुङ एन्ड डी कोल्याबको टोलीले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा हुने प्रतियोगितामा सातवटै प्रदेशबाट कुल ६८६ जना खेलाडीको सहभागिता रहने छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराँते हलमा, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमीकभर्डहलमा हुनेछन् ।

कुल ५६ स्वर्ण पदकका लागि खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान एक÷एक गरी चार स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा शीर्ष तीन स्थान हात पार्ने टोलीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । जुनियरतर्फ राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप