मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन गायक गगन आले र मोडल समीको बेजोड प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’

बुधबार, ०५ वैशाख २०८१, ०९ : ३९
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतमाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन गायक गगन आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो’ मंगलवार सार्वजनिक गरेका हुन् ।

यी युवा गायकले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

एसडि म्युजिक प्रोडक्सनको संगीत संयोजनमा बनेको यो गीतमा सुशील विक्रम शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने गीतका रेकर्डिष्ट पनि उनै हुन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा यसको सुन्दर म्युजिक भिडियो तयार पारिएको छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक गगन आले तथा मोडल समी लावतीको जोडीले सुन्दर अभिनय गरेका छन् । गगन झैँ  समी पनि जन्मजात दृष्टिविहीन हुन् । दुवै दृष्टिविहीन कलाकारले भिडियोमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका छन् ।

दृष्टिविहिन व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ, उनीहरू पनि सामान्य मानिसहरू झैँ भावुक हुन्छन्, उनीहरूको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक् हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ ।

मुकेश हुमागाईँ तथा समूहले छायाङ्कन गरेको यो गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मिन रावलद्वारा सम्पादन गरिएको यो भिडियोमा काठमाडौँको फर्पिङ क्षेत्रका आकर्षक लोकेसनहरू देख्न सकिन्छ ।

भिडियोमा दृष्टिविहीन भए पनि कलाकारद्वय गगन तथा समीलाई अभिनय गराउन खासै असहज नभएको निर्देशक रुपाखेतीको भनाइ छ । ‘उहाँहरू वास्तवमै सामान्य मानिसहरू झैँ हरेक कुरामा सक्षम हुनुहुन्छ, हामीले भिडियोमा पनि उहाँहरूले दैनिक जीवनमा जे–जे गर्दै आइरहनु भएको छ, तिनी कुराहरूलाई चित्रण गरेका छौँ, निर्देशक रुपाखेती भन्छन्– ‘मुख्य कुरा उहाँहरुमा पनि प्रेमिल भावना हुन्छ, उहाँहरू पनि रोमान्टिक बन्नु हुन्छ । त्यही रोमान्टिक अनि प्रेमिल क्षणलाई हामीले भिडियोमा कैद गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप