बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए

बिहीबार, ०६ वैशाख २०८१, १५ : ५७
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति नेतृत्व विहीन बन्न पुगेको छ । अध्यक्ष काशीराज दाहालसहित समितिका अरू दुई जना सदस्य डीबी बस्नेत र केशवराज आचार्य आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दै गत चैत २३ गते समितिबाट बाहिरिएका हुन् ।

योसँगै समिति नेतृत्वविहीन अवस्थामा रहन पुगेको छ भने समितिमा हाल दुई जना मात्र सदस्य रहेका छन् । पछिल्लो समय सहकारी क्षेत्रमा झन्झन् समस्या बढ्दै गर्दा यता थप सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा हुने चरणमा छन् ।

सहकारी विभागमा परेको सहकारी विरुद्धका उजुरीका चाङले केही ठुला सहकारीहरू तत्काल समस्याग्रस्त घोषणा गर्नुपर्ने स्थितिमा देखिएका छन् । तर, समस्याग्रस्त घोषित सहकारीको हिसाब किताब राफसाफ गर्ने जिम्मेवारी तोकिएको समिति नै नेतृत्वविहीन बन्न पुग्दा समस्या आएको हो । 

तालुक मन्त्रालय ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय’ ले तत्काल समितिलाई पूर्णता दिनेगरी काम अघि बढाइरहेको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव गणेशप्रसाद भट्टले रातोपाटीसँग भने, ‘समिति नेतृत्व विहीन बन्न पुगेकोप्रति मन्त्रालय गम्भीर र सचेत छ । तत्काल पदपूर्ति गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।’

समितिमा सक्षम र अनुभवी व्यक्तिहरूलाई नै पठाउने गरी मन्त्रालयले तयारी गरिरहेको बताउँदै प्रवक्ता भट्टले सो सम्बन्धी प्रस्ताव छिट्टै क्याबिनेट (मन्त्रिपरिषद्) मा लैजाने गरी मन्त्रालयले तयारी गरिरहेको उनले रातोपाटीसँग बताए । 

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारीसहित समितिको गठन भएको हो । 

हालसम्म (चैत १५, २०८० सम्म) २० वटा सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा भएका छन् । आर्थिक वर्ष २०७४/७५ को साउनसम्म एक दर्जन सहकारी समस्याग्रस्त घोषित भएकामा त्यसयता थप ८ वटा सहकारी संस्था समस्याग्रस्तको सूचीमा सूचीकृत भएका छन् । 

‘मैले समितिको नेतृत्व सम्हाल्दा ११ वटा सहकारी संस्था समस्याग्रस्त घोषित भएका थिए । तीमध्ये ५ वटाको समस्या समाधान भइसकेको छ भने एउटाको समाधानकै प्रक्रियामा छ । यसको समस्या समाधान हुने बित्तिकै अर्को तीन वटाको पनि स्वतः समाधान हुने स्थिति छ । बाँकी ९ वटा सहकारी भने पछिल्लो चरणमा थपिएका हुन्,’ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले रातोपाटीसँग भने ।

पशुपति, कान्तिपुर, शिव शिखर, लालीगुराँस, गौतमश्रीजस्ता ठुला सहकारीहरू पछिल्लो चरणमा समस्याग्रस्त घोषित भएकामा यी संस्थाहरूको समस्या समाधानका लागि सरकारले तत्काल कार्ययोजना बनाएर लाग्नुपर्ने दाहालले बताए । 

सहकारी क्षेत्रमा समस्या आउन नदिन र समस्या आइसकेकाहरूको समाधानका लागि आवश्यक नीतिगत, व्यवहारिक पक्षको सुधार गर्दै सहकारी नियमनको छुट्टै स्वायत्त निकाय तत्काल गठन गर्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप