बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुँगुर पाल्न महिलाले लाखौंको जागिर छाडेपछि...

बिहीबार, ०६ वैशाख २०८१, १६ : २५
बिहीबार, ०६ वैशाख २०८१

बेइजिङ । कर्पाेरेट क्षेत्रको जागिरमा राम्रो कमाई भएकाहरू ९–५ को जागिरमा खुशी नै हुन्छन् । तर चीनमा भने कर्पाेरेट क्षेत्रको आकर्षक जागिर छोडेर सुँगुर फार्ममा काम गर्न थालेकी २६ वर्षकी एक महिला यत्तिखेर सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् । ९ देखि ५ सम्मको जागिरमा मजा नआएको भन्दै ती महिलाले जागिर छाडेकी हुन् ।

युनान प्रान्तकी झोउ थरकी ती महिलाले मुख्य विषय साहित्य लिएर स्नातक गरेकी छिन् । तर विगत तीन वर्षदेखि उनी मासिक ६ हजार युआन तलबमा सुँगुरको फारममा काम गरिरहेकी छिन् । पहिलाको जागिर छोडेकोमा उनलाई कुनै पछुतो पनि छैन । ‘अब म खुशी छु किनभने म आफ्नै मर्जीको जीवन बिताइरहेको छु,’ झोउले भनेकी छिन् ।

साउथ चाइना मर्निङ पोस्टमा छापिएको एउटा समाचारका अनुसार दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा बस्दै आएकी झोउ एक कम्पनीमा राम्रो सेवा सुविधामा काम गरिरहेकी थिइन् । तर उनलाई काममा रमाइलो लागिरहेको थिएन । एक दिन उनले राजीनामा दिइन् । तर घरमा बस्दा बस्दा उनलाई दिक्क लाग्न थाल्यो । केही समय उनले खेतबारीमा पनि काम गरिन् । एक साथीले उनलाई सुँगुर फारममा काम गर्न सल्लाह दिए । सुरुमा त उनी हिच्किचाइन् । उनलाई यो काम राम्रो लागेको थिएन ।

पछि यही काम गर्ने प्रण लिइन् । यस काममा उनले परिवारको साथ र सहयोग पाइनन् । काम पनि सहज थिएन । सुँगुरहरू फोहोरी पशु हुन् । फोहोरमा बस्न मन पराउँछन् । तर उनले हार मानिनन् । अहिले उनी सामाजिक सञ्जाल सेन्सेशन बनेकी छिन् । धेरैले उनलाई रोल मोडल भन्न थालेका छन् । झोउको भिडियो भाइरल हुन थाल्यो । झोउको यो कदमबाट प्रेरणा लिएर जागिर छोडी आफ्नै काम गर्नेहरू पनि छन् । सर्वत्र उनको प्रशंसा भइरहेको छ । झोउ आफैं सुँगुरहरूलाई खाना खुवाउँछिन् । सुँई लगाइदिन्छिन् । सुँगुरनीलाई सुत्केरी गराउँछिन् ।

पछिल्लो  समय चीनमा पैसाका लागि भन्दा पनि आफ्नो रुची र खुसी हेरेर काम गर्ने प्रवृत्ति बढेको छ । मार्चमा पूर्वी चीनमा नाम चलेको विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी ३० वर्षीय महिलाले उच्च तलब भएको जागिर छाडेर खरबुजा खेती गर्न लागेको खबर आएको थियो । सन् २०२२ को नोभेम्बरमा पश्चिम चीनमा एक जना २२ वर्षका युवाले अफिसमा हुने राजनीति सुन्न नपरोस् भनेर चिहानमा काम गर्न थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप