बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो

बिहीबार, ०६ वैशाख २०८१, २० : ०६
बिहीबार, ०६ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अघिल्लो बिहीबार डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनिएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चासो व्यक्त गरेका छन् । बुधबार परिवारले मागहरू सम्बोधन नभए शव नबुझ्ने भनेपछि मुख्यमन्त्री कँडेलले घटनाको विषयमा चासो दिएका हुन् । 

कँडेलले बिहीबार परिवारका सदस्यहरूलाई बोलाई छलफल गरेका छन् । छलफलका क्रममा कँडेलले छानबिन समिति बनाइ छानबिन गर्ने कुरामा सकारात्मक धारणा राखेको तर, क्षतिपूर्ति र खर्च व्यवस्थापन गर्न नसकिने कुरा राखेका थिए । 

भीमाका हजुरबुबा नाता पर्ने कृष्ण गुरुङका अनुसार आफूहरूले पहिला छानबिन समिति बनाउन आग्रह गरेको र त्यसपछि शवको व्यवस्थापन गरी दैलेख पुर्‍याउने खर्चको व्यवस्थापन गरिदिन आग्रह गरेको उनले बताए । ‘उहाँले चासो लिनु भएको छ, तर कुरा टुङ्गोमा पुगेको भने छैन,’ उनले भने। 

पीडित परिवारको माग ७ महिने दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये १ जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्च स्तरीय छानबिन समिति गठनको माग राखेको छ । तर अस्पताल र प्रदेश सरकारले घटनाको उच्च स्तरीय छानबिन बाहेकका अरू माग पुरा गर्न नसकिने बताएको छ । 

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले अस्पतालले क्षतिपूर्ति दिन नसक्ने कुरा आफूहरूले पहिले नै बताइसकेको बताए । तर, छानबिन समिति बनाइ अनुसन्धान गरे त्यसमा आफूहरू तयार रहेको उनले रातोपाटीलाई बताए ।

‘क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । छानबिन समिति गठन गर्न हामी सहमत छौँ,’ उनले भने, ‘अस्पतालबाट गल्ती भएको छ भने कानुन अनुसार कारबाही भोग्न तयार छौँ भन्ने कुरा हाम्रो छ ।’ 

उनका अनुसार परिवारको मुख्य माग बच्चाको लालनपालनको ग्यारेन्टी हुनुपर्‍यो भन्ने रहेको बस्नेतले बताए । तर अस्पतालसँग त्यस्तो स्रोत पनि नभएको र ग्यारेन्टी गर्न नसकिने कुरा अस्पतालले प्रष्ट रूपमा भनिदिएको उनको भनाइ छ । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्य छानबिन समिति बनाउने विषयमा कुरा अघि बढेको बताउँछन् । ‘छलफल भइरहेको छ, छानबिन समितिका लागि प्रदेश सरकारले अग्रसरता देखाउला,’ उनले भने । 

भीमाको मृत्यु भएको एक हप्ता बितिसकेको छ । तर, शव अझै अस्पतालमै छ । उनको ७ महिने छोरी छिन् । शव अस्पतालमै छाडेर आफन्तहरू घर फर्किसकेका छन् भने भीमाका बुबा–आमा, ससुरा, श्रीमान् मात्रै सुर्खेतमै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप