बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु

शुक्रबार, ०७ वैशाख २०८१, १० : १३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ बिहीबारबाट तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा रामेछापको रामेछाप नगरपालिका-८, रामेछाप बजारस्थित गौरीशङ्कर उच्च माविमा आयोजित महोत्सव शनिवारसम्म चल्नेछ ।

विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । नेपालका सिनेमा हल नभएका जिल्लाहरूमा गाउँले परिवेशमा निर्माण गरिएका सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ–गाउँका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने तथा उत्कृष्ट फिल्मलाई अवार्डसमेत प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक सेलिब्रेटी नेपालमा अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । 

महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्य रहेको सापकोटाको भनाइ छ ।

महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र तथा चलचित्र र स्थानीय सरकार विषयमा तीन भिन्न सिनेमा संवाद कार्यक्रममा सञ्चालन गरिँदै छ । महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । 

महोत्सवमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटी रहेको छ । जुरीमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई तथा कुबेरराज गिरी रहेका छन् ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरिएको थियो । 

महोत्सवमा यो पटक फिचर फिल्म तर्फ नाङ्गो गाउँ, दिमाग खराब, विच्छेद, सतीदेवी रहेका छन्, भने सर्ट फिल्म तर्फ द डार्क बेकन, सिगरेट, सिपाहीको छोरा, द ग्रेट मुखिया, डिस्पेयर, रित्तो गाउँ, आमा, स्यालुट, अन्तै माया रहेका छन् । त्यस्तै डकुमेन्ट्री फिल्ममा आग्रे, स्नो लेपाड, इट्टा भट्टा, बनकरिया छन् । 

त्यस्तै भाषिक फिल्ममा लिलामे माइला, माराङ, स्वयनगु रहेको आयोजकले जनाएको छ । 

Festival

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप