बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियो कांग्रेस

शुक्रबार, ०७ वैशाख २०८१, १६ : १६
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनिएको छ । मुख्यमन्त्री नियुक्ति र त्यसपछिका प्रक्रियामा प्रदेश प्रमुखहरूले असंवैधानिक कार्य गरेको कांग्रेसको जिकिर छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले असंवैधानिक कार्य गरेको भन्दै पार्टीले राजनीतिक र कानुनीरुपमा विरोध गर्ने बताए । 

प्रदेश प्रमुखहरूले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको महतले बताए । 

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लङ्घन गरेको महतको भनाइ थियो । उनले २०८० चैत्र २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानूनी र त्रुटिपूर्ण भनी सर्वोच्च अदालतमा दायर भएको रिटमा यसको टुंगो नलाग्दासम्म दीर्घकालीन प्रकृतिका कुनैपनि निर्णय नगर्नू/नगराउनू भनी चैत्र २८ गते आदेश भए पनि त्यसको पालना नभएको बताए । 

रिटको पूर्ण सुनुवाइ, वैशाख १० मा तोकिसकेको अवस्थामा प्रदेश सभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारबाट अदालतको अवहेलना गर्ने काम भएको उनले बताए । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अवज्ञा गर्दै प्रदेश सभाको अधिवेशन बोलाइनु गैरकानूनी र सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत रहेको बताए । 

यस्तै सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधान सम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढङ्गमा फेरि सरकार आह्वान गर्नुलाई पनि असंवैधानिक कदम भएको कांग्रेसको भनाइ छ । संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार नदिएको महतले बताए । 

उनले मुख्यमन्त्रीका लागि प्रस्तावित सांसदका विषयमा समर्थन र समर्थन फिर्ताको प्रपञ्च रचिएको भन्दै यसले संसदीय पद्धति र संघीय व्यवस्थाप्रति निराशा उत्पन्न गरेको बताए । दोस्रो पटक मुख्यमन्त्री नियुक्तिका लागि आह्वान हुँदा बिहीबारमात्रै प्रदेश प्रमुख मियाँले दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

‘प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसको ठहर छ’, उनले भने, ‘ प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप